राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न – Janadesh Daily | ePaper

राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न


जनादेश,बैतडी:

बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण गर्ने निर्णय गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप र राजश्व चुहावट नियन्त्रणबारे छलफल भएको छ ।”

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा, सहायक प्रमुख जिल्ला अधिकारी नेगी, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी प्रमुख गणेशबहादुर शाह, महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख सुभाष पौडेललगायतको सहभागिता थियो ।

बैठकमा सीमानाका बन्द रहेका बेला पनि अवैधरूपमा भइरहेको चोरी निकासी नियन्त्रणमा जोड दिइनेबारे छलफल भएको छ । झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापनापश्चात अवैध निकासी नियन्त्रण गर्न सहज भएको बताइएको छ । गत चैत ११ गतेदेखि लकडाउन भएकाले सीमानाका पनि बन्द रहेका छन् ।

सीमानाका बन्द रहेका बेला पनि भारतीय सामग्री आयात भइरहेको पाइएको छ । प्रहरी र सशस्त्र प्रहरीले लकडाउनकै बेला पनि अवैध सामग्री बरामद गरिसकेको छ । सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न र राजश्व चुहावट नियन्त्रण गर्न बैठक फलदायी रहेको बताइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्