गरिबीबाट झन् गरिबीको भूमरीमा धकेलिंदै श्रमिक – Janadesh Daily | ePaper

गरिबीबाट झन् गरिबीको भूमरीमा धकेलिंदै श्रमिक


कोरोना महामारी रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण सानोतिनो पेशा व्यवसाय गरेर पेट पाल्ने वर्गहरु कामविहीन भए । कयौंको गरिखाने मेलो गुम्यो भने कति त आर्थिक कठिनाइसँग जुधिरहेका छन् । कोरोना महामारीका कारण नेपालमा मात्र होइन विश्वकै श्रमिकले आर्थिक संकटको सामना गरिरहेका छन् । विश्वकै अर्थ व्यवस्थामा आर्थिक मन्दी छाएको छ ।

लकडाउनका कारण दिनहुँ आफ्नो श्रम बेचेर गुजारा गर्ने वर्ग बढि प्रताडित भएका छन् । दैनिक ज्यालादारी काम गरेर परिवारको लागि खाना र नानाको जोहो गर्ने मजदूर अहिले कामविहीन भएका छन् । अझै कतिले त काम गरेको ज्यालासमेत पाउन नसकेको गुनासो गरेका छन् । काम पनि नपाउने र काम गरेको बेलाको तलब नपाउने भएपछि उनीहरु परिवार पाल्ने पीडाले रन्थनिएका छन् ।

तर, श्रमिककै पसिनामा काठमाडौंमा आलिसान महल ठड्याउने भने मजदूरका पीडामा मलम बन्न सकेका छैनन् । उल्टै मजदूरले चलाइदिएको व्यवसाय खस्केको बहाना बनाई श्रमिकको श्रममाथि राजनीति गरिरहेका छन् ।

व्यवसायीले लकडाउनका कारण रोजगारी गुमाएका श्रमिकको पुनर्वहालीको व्यवस्था मिलाउने र आर्थिक संकट पर्न नदिने आश्वाशन दिए । कतिपय उद्योगी तथा व्यावसायीले श्रमिकलाई काम नगरेका बेला पनि तलव दिनुपर्ने भन्दै सरकारसंग छुट तथा राहत पनि मागे । तर, सो वचनको पालना भएको भने देखिदैन । श्रमिकले भने न त काम गरेको बेलाको तलव पाए न त रोजगारीमा पुनर्बहाली नै भयो ।

मजदूरका हकहितका लागि भन्दै हरेक वर्ष विश्वभर मजदूर दिवस मनाइन्छ । मजदुरकै भरमा करोडपति हुनेहरुले यस दिन मजुदूरका लागि यस्तो र उस्तो गछौं भनेर मज्जैले आश्वासन दिन्छन् तर त्यो आश्वासन उनीकहाँ नपुग्दै हावामै बिलिन हुन्छ ।

मजदूरका मालिक बनेका तिनै मजदुरलाई भर्याङ बनाएर शासकमा रूपान्तरित भएका छन् । तर, आममजदूरको स्थिति भने उस्ताको उस्तै छ ।

अहिले नेपालमा मात्र होइन, विश्वकै श्रम बजारमा शारीरिक श्रम गर्ने र मानसिक श्रम गर्नेबीच ठूलो खाडल छ । यतिबेला मजदुर अनेकौं पीडामा रन्थनिइरहेका छन् ।

६० करोड मजदूरको गुम्यो जागीर :

अन्तर्राष्ट्रिय श्रम संगठनले तयार पारेको प्रतिवेदन ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ अनुसार संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार छन् ।

१८ करोड ८० लाख मानिस बेरोजगार भएको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनअनुसार १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन ।

तथ्यांकअनुसार विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत जनसंख्या बेरोजगारीबाट पीडित छ । समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित भएको देखिन्छ ।

पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मक रूपमा स्थिर थियो । सो बेला विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेको र श्रम शक्ति बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरिएको छ ।

कोरोना महामारी देखिएपछि बेरोजगारी अझै बढ्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अध्ययनले बताएको छ । आइएलओले बैशाखमा सार्वजनिक गरेको तथ्यांकले कोभिड १९ का कारण अनौपचारिक क्षेत्रमा काम गर्ने एक अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको देखाएको छ ।

कोभिड १९का कारण सबैभन्दा जोखिममा अनौपचारिक क्षेत्रका मजदूर परेका छन् । यस महामारीकै कारण अहिलेसम्म अनौपचारिक क्षेत्रका ६० प्रतिशत मजदूरले रोजगारी गुमाएका छन् ।

आईएलओ यसअघि सन् २०२० मा आंकलन गरेकोभन्दा पनि तीव्र गतिमा रोजगारी घट्ने जनाएको छ । यसरी बेरोजगार भएकामा अनौपचारिक क्षेत्रमा रहेका नेपाली मजदूर पनि परेका छन् ।

धनी गरीबबिच दूरी बढ्दै :

१९ औं शताब्दीको मध्यबाट युरोपमा उर्लिएको मजदूर आन्दोलनले धनी र गरीबबीच असमानता अन्त्य गर्न मजदूरको शासन हुनुपर्ने मान्यता स्थापित गरेको थियो । तर, सो मान्यता धेरै समय टिक्न सकेन । असमानता अहिले पनि उस्तै छ ।

गरिबी र असमानताविरूद्ध काम गर्दै आएको संस्था ‘अक्सफाम इन्टरनेशनलको २०७६ मा प्रकाशित तथ्यांकअनुसार संसारका दुई हजार १५३ जना खर्बपतिसँग संसारका बाँकी ६० प्रतिशत (चार अर्ब ६० करोड) मानिससँग भएको जम्मा सम्पत्ति भन्दा बढी सम्पत्ति छ ।
विश्वव्यापी असमानता पछिल्लो दशकमा अझै बढेको र खर्बपतिको संख्या दोब्बर भएको सो प्रतिवेदनले औल्याएको छ ।

दिनहुँ कमाएर आफ्नो ज्यालाबाट गुजारा चलाउने वर्गको आम्दानीको दीगोपन हुँदैन । उनीहरू आश्रित कम्पनी वा व्यवसायमा अप्ठ्यारोमा पर्दा कामका आधारमा तलब खाने वर्गको आम्दानी रोकिन्छ । अर्थात् आफ्ना रोजगारदाताले पाएको हानीमा उनीहरु पनि भागिदार बनिदिनुपर्छ ।

तर, बहुसंख्यक व्यवसायी र रोजगारदाताको व्यवसाय धानिदिएका वर्ग समस्यामा पर्दा तिनै उद्योगी व्यासायी मौन छन् । मजदूरहरु निर्बल हुने बित्तिकै रोजगारदाता तथा उद्योगधन्दा पनि धरासायी बन्ने खतरा बढ्छ । बन्दाबन्दीको कारण अति विपन्न वर्गको गरिखाने मेलो लथालिंग भएको छ । जसको कारण उनीहरु पुन गरिबीको भूमरीमा धकेलिंदै छन् ।

यसरी धनी र गरिबबीचको खाडल बढ्दै जाँदा र मालिकले मजदुरलाई शोषण गरिरहँदा गरिबी र बेरोजगारीको दुष्चक्र मौलाइरहेको छ ।

जीवनस्तर उकास्ने उपाय :

लकडाउनका कारण कमाइ खाने अवसर नपाएका वर्गको आर्थिक स्थिति उकास्न तथा थप संकट आउन नदिन सरकार तथा स्थानीय निकाय तथा रोजगारदाताले आय आर्जनका नयाँ कार्यक्रम तथा योजना तत्काल थालनी गर्नैपर्छ । रोजगारी गुमाएका र गुजाराको लागि विकल्प खोज्दै गरेका श्रमिक वर्गको जीवनस्तर खस्कन नदिन सरकाले तत्काल आर्थिक उपार्जनका व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।

यसको लागि नेपालको कृषि उत्पादन, नेपालमा खाद्यवस्तुको उपलब्धता र सोको पूर्तिको लागि उत्पादन र वितरण प्रणालीको विश्लेषण गरी कार्ययोजना अघि सार्नुपर्ने देखिन्छ । त्यस्तै मुलुकमा गरिबीको दुष्चक्र फैलिन नदिन लकडाउनबाट प्रभावित सबै वर्ग र क्षेत्रलाई समेट्नेगरी रोजगारीका कार्यक्रम ल्याउनु जरुरी छ ।

कोरोना महामारीले निम्त्याएको गरिबीसँग लड्न सरकारले गरेका सहायताका प्रयासले सबै वर्ग र क्षेत्रलाई समेट्नुपर्ने खाँचो छ । जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएर त्यसको प्रभावकारी कार्यन्वयन गर्ने तर्फ स्थानीय निकाय उत्तरदायी हुनु आवश्यक छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्