सुशान्त मृत्यु प्रकरण : कारण खोतल्दै सीबीआई – Janadesh Daily | ePaper

सुशान्त मृत्यु प्रकरण : कारण खोतल्दै सीबीआई


एजेन्सी ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुत गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परे । सुरुमा प्रहरीले उनले झुन्डिएर आत्महत्या गरेको बतायो । तर, निकै शालीन र भद्र यी अभिनेताको अपत्यारिलो अन्त्यले अनेक शंका उब्जाइदियो । खासगरी उनका फ्यानहरूले आत्महत्या गरेको स्विकारेनन् । घटनाको यथार्थ बाहिर आउनुपर्ने  आवाजहरू घनीभूत हुँदै गए ।

सुरुमा चर्को विवाद र बहस भयो– बलिउडभित्रको नातावाद र समूहवादले सुशान्त आत्महत्या गर्न बाध्य भए । करण जौहर, सलमान खानदेखि सञ्जयलीला भन्सालीसम्म यो प्रकरणमा मुछिए । ‘आउटसाइडर’ भएकै कारण उनीहरूले सुशान्तलाई अपमान, निषेध र बहिष्कार गरेको आरोप लाग्यो । गाली बढ्दै गएपछि करणले सामाजिक सञ्जालबाट ‘ब्रेक’ नै लिनुपर्‍यो । नातावादको बहसको हावा नेपालमा पनि आइपुग्यो । बलिउडमा खासगरी फिल्मी खानदान र लहरोप्रति घृणा र आक्रोशचाहिँ बढ्यो । भट्ट परिवारको ‘सडक २’ को ट्रेलरले युट्युबमा डिस्लाइकको रेकर्ड राख्नु ज्वलन्त प्रमाण हो ।

दुई महिना बितिसक्दा पनि सुशान्त मृत्यु प्रकरणको यथार्थचाहिँ बाहिर आउन सकेको छैन । जटिल र रहस्यमयी बन्दै छ । यो विषयलाई गिजोल्न टीआरपीका लागि अतिरञ्जित कन्टेन्ट पस्कन मरिहत्ते गर्ने भारतीय न्युज टेलिभिजन सबैभन्दा अगाडि छन् । भारतमा कोरोना संक्रमितको संख्या दैनिक ७० हजार नाघ्न थालेको छ, मृतकको संख्या नै दैनिक बढेको बढेकै छ । तर टेलिभिजनका प्राइम टाइम सोमा कोरोनाको व्यवस्थापनमा बीजेपी सरकार कहाँ चुक्यो भनेर जति प्रश्न गरिन्छ, त्योभन्दा ज्यादा सुशान्त मृत्यु प्रकरणसँग जोडिएर अनेक मिथ्या र अतिरञ्जित तर्क/तथ्य पेस गरिन्छ । मुम्बई प्रहरी र बिहार प्रहरीको ‘जुँगाको लडाइँ’ ले पनि अनुसन्धान प्रक्रियामा ढिलाइ भयो ।

यसबीचमा जति पनि घटनाक्रम र तथ्यहरू बाहिर आए, यसले चाहिँ उनको मृत्यु ‘सामान्य’ होइन भन्ने शंकालाई बलियो बनाएको छ । त्यसैले सुशान्तका परिवार र फ्यान मात्र होइन, बलिउडकर्मीले पनि सीबीआईबाट जाँच हुनुपर्ने माग गरे । सुरुमा बहिनी श्वेतासिंह कीर्तिले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै यो माग राखेकी थिइन् । त्यसपछि वरुण धवन, कृति सेनन, कंगना रनावत, परिणिती चोपडा, सिद्धान्त चतुर्वेदी, आदित्य पञ्चोलीलगायतका कलाकारले सामाजिक सञ्जालमा ह्यासट्याग ‘सीबीआई फर एसएसआर’ लेख्न थाले । यसको सम्बोधन गर्दै गत बुधबार त्यहाँको सर्वोच्च अदालतले सीबीआईलाई जाँचको आदेश दिएको छ ।

मृत्यु प्रकरणका अनेक पाटा खुल्दै गएपछि धेरैको नजरमा परेकी पात्र हुन्, सुशान्तकी प्रेमिका रिया चक्रवर्ती । सुशान्तका आफन्तको मुख्य चित्त दुखाइ र आक्रोश पनि रियासँगै छ । उनीहरूले मृत्युको मुख्य कारण रिया अनि उनको समूह भएको बताइरहेका छन् । मुम्बई प्रहरीको छानबिनप्रति विश्वास नभएको भन्दै सुशान्तका पिता केके सिंहले रियाविरुद्ध पटना प्रहरीमा उजुरी दिए । रियाले मुद्दा मुम्बईमा सार्न माग गर्दै सर्वोच्चमा निवेदन दिइन् । त्यही निवेदनमाथि फैसला गर्दै अदालतले सीबीआईलाई जाँच गर्न आदेश दिएको हो । मुम्बई पुलिसलाई सहकार्य गर्न निर्देशन दिइएको छ । यो आदेशपछि सुशान्तका परिवार र फ्यानले राहत महसुस गरेका छन् ।

सुशान्तका बाबुले रियासहित उनका भाइ सोविक, अन्य दुई आफन्त सन्ध्या र इन्द्रजित, सुशान्तकी पूर्वम्यानेजर श्रुति मोदी र सामुयल मिरन्दाविरुद्ध उजुरी दिएका छन् । सुशान्तको सम्पत्तिका लागि रियाले उनलाई तनाव दिएको दाबी गरिएको छ । रिया र उनको परिवार मिलेर सुशान्तको बैंक खाताबाट १५ करोड भारु झुक्याएर झिकेको आरोप लगाइएको छ । श्रुतिले पनि सुशान्तको आर्थिक कारोबार र निर्णय रियाले गर्ने गरेको खुलासा गरेकी छन् । सुशान्तका पूर्वम्यानेजर अखिलेशले पनि उनको सम्पत्तिमाथि सम्पूर्ण अधिकार रियाकै हुने गरेको बताएका थिए । रियाले भने इन्कार गर्दै आएकी छन् । बरु उनले फिल्म निर्माण कम्पनीसँग भएको सम्झौताप्रति सुशान्त निराश रहेको दाबी पेस गरेकी छन् ।

रिया र निर्माता/निर्देशक महेश भट्टको सम्बन्ध र सुशान्तको मृत्यु बखत उनीहरूबीच आदानप्रदान भएको म्यासेजले पनि आगोमा घिउ थप्ने काम गरेको छ । मिडियाले सार्वजनिक गरेका उनीहरूको च्याटको स्क्रिनसटमा एकअर्कालाई ‘लभ यु’ भनेको देखिन्छ । सुशान्तको मृत्युको केही दिनअगाडि रियाले महेशलाई पठाएको म्यासेजमा उनले सुशान्तको घर छाडेको उल्लेख गरेकी छन् । त्यसलाई उनले ‘राहतको अनुभूति’ भनेकी छन् । घर छाड्न उनलाई महेशले सुझाएका थिए । यसको उत्तरमा महेशले लेखेका छन्– ‘कहिले पछाडि फर्केर नहेर्नू । जुन कुरा अपरिहार्य छ, त्यसलाई सम्भव बनाउनू ।’ सुशान्तको मृत्युको दिन उनीहरूबीच भएको च्याट पनि बाहिरिएको छ ।

महेशले निर्माण गरेको ‘जलेबी’ रियाले अभिनय गरेकी थिइन्, यो फिल्म फ्लप भएको थियो । त्यसपछि उनीहरूको सम्बन्ध प्रगाढ भएको र यसले अन्तरमुखी स्वभावका सुशान्तमा गहिरो प्रभाव पारेको व्याख्याहरू भइरहेका छन् । सुशान्त करियरको शिखरमा रहेका बेला आफूहरूबाट टाढा राख्न खोजेको भन्दै रियाप्रति राजपुत परिवार क्रूद्ध भएको हो । रियाका पछिल्ला गतिविधिले पनि थप शंका गर्ने आधार मिलेको छ । हालै मात्र उनी सुशान्तको शव राखिएको कुप्पर अस्पतालमा अवैधानिक तवरले पुगेकी थिइन् ।

विवादास्पद धार्मिक संगठन कर्णी सेनामा आबद्ध सुर्जित सिंहले रियालाई शव घरसम्म पुर्‍याएका थिए, रियाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने भन्दै उनले अस्पताल प्रशासनलाई मनाएको रिपोर्टमा उल्लेख छ । यसबारे सीबीआईले फरेन्सिक डाटा संकलन गरिरहेको र उनको प्रवेशलाई लिएर चिकित्सकमाथि प्रश्न गर्ने तयारी भएको भारतीय मिडियाले जनाएका छन् । शनिबार सीबीआई टोली अस्पताल पुगेको थियो । टोलीले प्रारम्भिक अनुसन्धानमा देखिएको खोटउपर मुम्बई प्रहरीमाथिसमेत अनुसन्धान गर्ने खबरहरू आइरहेका छन् ।

तर, अरू धेरैले दाबी गरेजस्तो बलिउडभित्रको नातावाद पनि सुशान्तको मृत्यु कारण हो भन्नेबारे उनको परिवारले दिएको उजुरीमा उल्लेख छैन । मृत्युको केही समयपछि सुशान्तको परिवारले सार्वजनिक गरेको ९ पेज लामो खुलापत्रमा सुशान्तको हत्या भएको र आफूहरूलाई धम्की आइरहेको उल्लेख थियो । सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखन्डेप्रति भने सुशान्तको परिवारको नम्रभाव देखिन्छ । उनले परिवार र फ्यानले वास्तविकता थाहा पाउनुपर्ने बताएकी थिइन् । सन् २०१६ मा बिछोड भएपछि सुशान्तसँग कुनै सम्पर्क नभएको तर सुशान्त डिप्रेसनमा पर्ने व्यक्ति नभएको उनको भनाइ छ । ‘सुशान्त निडर थिए,’ उनले भनेकी छन् ।

सुशान्तका साथी भनिएका सन्दीप सिंहमाथि प्रश्न उठाइएको छ । सीबीआईले महेश भट्ट, रिया, सन्दीप, सुशान्तलाई पहिलोपटक मृत अवस्थामा देख्ने व्यक्ति सिद्धार्थ पिठानी, सुशान्तको आर्थिक कारोबार, बलिउडकर्मीसँगको सम्बन्धलगायत अनुसन्धान गर्दै छ ।

यही बेला भान्से निरजको अभिव्यक्ति सार्वजनिक भएको छ– ‘यो आत्महत्या हो ।’ टाइम्स नाउ च्यानलसँगको कुराकानीमा उनले मृत्युको केही समयअगाडि सुशान्तले कोठा बन्द गरेको बताएका छन् । ‘हत्या हुन्थ्यो भने हामीले देख्थ्यौं, कोही आएको भए हामी रोक्थ्यौं,’ उनले भनेका छन्, ‘प्रायः उनी ढोका लगाउँदैनथे तर लगाएका बेला हामी डिस्टर्ब गर्दैनथ्यौं ।’

यो प्रकरणमा तिखो आवाज अभिनेत्री कंगना रनावतको सुनिएको छ । सुशान्तमा डिप्रेसन र ‘बाइपोलार डिस्अर्डर’ भएको दाबी छ उनको ।कतिपयले कंगनाको यो ‘साहस’लाई सलाम गरेका छन् भने उनको आधारहीन अभिव्यक्तिका कारण अनुसन्धान प्रक्रिया बिथोलिने चिन्ता गर्ने उत्तिकै छन् । उनीमाथि सुशान्तको न्यायको पक्षमा बोलेजस्तो गरेर आफ्नो व्यक्तिगत प्रतिशोध पूरा गरिरहेको आरोप पनि लागेको छ । अब हुँदाहुँदा सुशान्तको परिवारले समेत उनको अभिव्यक्तिप्रति असन्तुष्टि पोख्न थालेको छ ।

सुशान्तको परिवारका वकिल विकास सिंहले कंगनाको भनाइलाई ‘महत्त्वहीन’को संज्ञा दिएका छन् । उनका अनुसार परिवारले दिएको उजुरी र कंगनाको दाबीबीच कुनै सम्बन्ध छैन । कंगनाले आफ्नो एजेन्डा स्थापित गर्न व्यक्तिगत समस्या भएका व्यक्तिहरुमाथि आक्रमण गरिरहेको विकासको आरोप छ । ‘उनको आफ्नै उद्देश्य भएको जस्तो देखिन्छ,’ विकासले पिंकभिल्लासँग भनेका छन्, ‘बलिउडमा नातावाद भएको सबैलाई थाहा छ, त्यसको विभेद सुशान्तले पनि भोगे तर यो अनुसन्धानको मुख्य विषय होइन । मुख्य कुरा त रिया र उनको समूहले सुशान्तलाई कसरी शोषण गरे र सके भन्ने हो ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्