खर्चिलो भएकैले ‘प्राङ्गारिक बन्दैनन् चिया उद्योग’ – Janadesh Daily | ePaper

खर्चिलो भएकैले ‘प्राङ्गारिक बन्दैनन् चिया उद्योग’


किरण पौड्याल, इलाम ।

अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अग्र्यानिक) चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफँै सचेत हुनुले चिया प्राङ्गारिक बनाउने क्रम बढेको छ तर प्राङ्गरिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन् । खर्च बढी लाग्नाले पनि उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिन चाहँदैनन् ।

प्रमाणपत्र लिन अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाका मानिस ल्याउनु पर्ने तथा उद्योगको सबै तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ । उद्योग/सहकारीले सबै काम गर्न आफ्नै खर्च जुटाउनुपर्छ । लामो प्रक्रिया र खर्चिलो भएकाले धेरैले प्रमाणपत्र लिने प्रक्रिया नै थालेका छैनन् ।

“चियाको माग, मल अभाव, किसान आफैँमा आएको परिवर्तनले चिया विस्तारै प्राङ्गारिक त बन्दै छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भन्नुहुन्छ, “तर झण्झटिलो प्रक्रिया छ ।” राईका अनुसार चियाको प्राङ्गारिक प्रमाणीकरण गर्ने अनुसन्धानकर्ता नेपालमा दुईदेखि तीन जना मात्र छन् ।

अन्य अनुसन्धानकर्ता विदेशबाटै ल्याउनुपर्ने भएकाले खर्चिलो हुने गर्छ । “फेरि आफू वा आफ्नो वरिपरिका चिया उद्योगको अनुसन्धानकर्ताले पनि सर्वेक्षण गर्न पाइँदैन । अरूतिरबाट ल्याउँदा बढी खर्चिलो नै हुन्छ”, राई भन्नुहुन्छ । चियाको प्रमाणीकरणमा जान चाहे पनि कतिपय उद्योगीले खर्चकै कारण सकेका छैनन् ।

उन्नति परियोजनामार्फत सहयोग पाउँदा केही उद्योगले प्रमाणीकरण गरेका थिए तर अन्य सङ्घसंस्थाले सहयोग नगर्दा महँगो खर्च उद्योग आफैँले बोक्नुपर्छ । प्राङ्गारिकीकरण गरेर मात्र भएन वार्षिक प्रमाणपत्रको नवीकरण गर्नुपर्छ । नवीकरणका लागि रकम खर्चिनुपर्ने हुँदा उद्योगीले चाहेर पनि प्रमाणपत्र लिन सकेका छैनन् ।

प्राङ्गारिक प्रमाणपत्र लिन उद्योगमा संलग्न किसान र किसानले ल्याउने चिया कति क्षेत्रफलमा छ भन्ने विषय मुख्य हुन्छ । किसान र चियाखेती गरिएको जमिन बढी भए प्रमाणीकरणका लागि बढी खर्च लाग्ने गरेको जिल्ला चिया उत्पादन सहकारी सङ्घका अध्यक्ष प्रेमराज गुरुङ बताउनुहन्छ । प्रमाणपत्रका लागि खर्च मात्र नभई लामो समय लाग्ने गरेको गुरुङको बुझाइ छ ।

“यो सबै खर्च जोड्दा त चियाको अन्य काममा पनि लाइन्छ भन्ने लाग्छ र प्राङ्गारिकीकरण गरिँदैन”, गुरुङले भन्नुभयो । उहाँले प्रमाणपत्र लिनका लागि खर्च कम लाग्ने भए जिल्लाका धेरै उद्योग प्राङ्गारिक भइसक्ने बताउनुभयो ।

कति छन् त प्राङ्गारिक प्रमाणपत्र भएका उद्योग/सहकारी

जिल्लामा १०० भन्दा बढी चिया उद्योग छन् तर हालसम्म १४ उद्योग मात्र प्रमाणीकरण भएका छन् । तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, ग्रीनहिल चिया उद्योगले प्रमाणपत्र लिएका छन् ।

त्यस्तै कञ्चनजङ्गा चिया उद्योग, सन्दफू चिया उद्योग, जस्वीरे चिया उद्योग, दाजुभाइ उद्योग, मिस्टम्याली उद्योग, गोर्खा टी स्टेट, इलामेली चिया, ग्रीन टी उद्योग, ओसिस चिया उद्योगले पनि प्राङ्गारिक प्रमाणपत्र लिएका छन् ।

अरू उद्योग प्रक्रियामा गए पनि अन्तिम प्रमाणपत्र भने लिएका छैनन् । पछिल्लो समय जिल्लाको सबैभन्दा बढी चिया उद्योग भएको सूर्योदय नगरपालिका (सूनपा) ले उद्योगलाई प्राङ्गारिकीकरण गर्न ताकेता गरे पनि आर्थिक सहयोग भने गरेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्