जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ – Janadesh Daily | ePaper

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ


म्याग्दी ।

बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।

घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष (जन्मकैद)को फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो । अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ । दोषी ठहर गरेका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पीडितले न्यायको अनुभूति गरेका छन् ।

जिल्ला अदालतका अनुसार गत वर्ष कूल रु एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा रु ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ ।

यसैगरी कूल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुलउपर भएको छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्