लमजुङ ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।
जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो ।
जिल्लामा आज मात्र नेपाली सेनामा कार्यरत २० जना र बेँसीशहर नपा वडा नं ७ र ८ का तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । रासस