दलित विद्यार्थी मात्रै पढ्ने नमुना विद्यालय – Janadesh Daily | ePaper

दलित विद्यार्थी मात्रै पढ्ने नमुना विद्यालय


बागलुङ ।

माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे । गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका ।

विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । बाल कक्षा पनि चलेको छ । विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ । स्थायी र राहत दरबन्दीमा एक/एक शिक्षक छन् । दुई शिक्षक स्थानीय स्रोतका ।

कमजोर आर्थिक स्थिति र सिमित स्रोत, साधनका बाबजुत बालबालिकालाई गुणस्तरीय शिक्षा दिन विद्यालय सङ्घर्षरत छ । प्रदेश सरकारको सहयोगमा चार कोठे भवन बनेपछि विद्यालयको भौतिक अवस्था केही सुधारिएको छ । खेल मैदानको भने अभाव छ ।

केही वर्षअघिसम्म विद्यार्थी, शिक्षक, व्यवस्थापन पक्ष सबै दलित समुदायकै थिए । अहिले प्रधानाध्यापकलगायत शिक्षक, कर्मचारी गैरदलित पनि छन् । दलित बाहुल्य बस्तीमा पर्ने भएकाले विद्यालयमा दलित विद्यार्थी धेरै हुनु अनौठो होइन तर, यो विद्यालयमा दलित विद्यार्थी मात्रै पढ्छन् ।

विद्यालय नेरफेर अन्य जातिका मानिसको बसोबास नभएको भने होइन । उनीहरुका बालबच्चा दैलोको विद्यालय छाडेर कोही नीजितिर त कोही अन्यत्रको विद्यालय जान्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जीका अनुसार सार्वजनिकरुपमा अनुरोध गर्दा पनि गैरदलित समुदायका बालबालिका भर्ना हुन आउँदैनन् ।

विद्यालयका प्रअ कल्पना गौतमले विद्यालयमा गुणस्तरीय सिकाइको वातावरण बनाउन आफूहरु लागिपरेको बताउनुभयो । विद्यालयमा आर्थिक स्रोत र शैक्षिक विकासका लागि पूर्वाधार अभाव रहेको उहाँको भनाइ छ । “अङ्ग्रेजी माध्यमको पढाइका लागि स्थानीय स्रोतबाट शिक्षक व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्रअ गौतमले विद्यालयमा कम्प्युटर शिक्षाको योजना रहेपनि आर्थिक स्रोत नजुट्दा समस्या निम्तिएको बताउनुभयो । प्रविधियुक्त सिकाइका लागि स्रोत, साधनको कमी छ ।

स्थानीय तहलगायत सरकारी निकायबाट धेरथोर सहयोग आएपनि त्यो प्रयाप्त छैन । सङ्घसंस्था, दाताले बेलाबेला विद्यार्थीका लागि शैक्षिक सामग्री, पोशाक वितरण गर्दै आएका छन् । गत साता गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले अक्षयकोषमा रहने गरी रु. ५० हजार आर्थिक सहयोग गरेको थियो ।

“गाउँको विद्यालयलाई सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हौँ”, समितिका अध्यक्ष रामु थापा काजीले भन्नुभयो । विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रअ गौतमले बताउनुभयो । “विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन”, उहाँले भन्नुभयो ।

अक्षयकोषको ब्याजबाट वर्षेनि उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत/सम्मान गर्ने सोच विद्यालयको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्