बेनी अस्पतालः आकस्मिक बाहेकको सेवा ठप्प – Janadesh Daily | ePaper

बेनी अस्पतालः आकस्मिक बाहेकको सेवा ठप्प


म्याग्दी ।

तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

उनीहरुले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । अ नर्स मनदेवी गौतमले चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।

“अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,” उहाँले भन्नुभयो “अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।”

आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगङ्गा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउदा समस्या भएको बताउनुभयो ।

बिरामी बच्चाको उपचारका लागि आएकी मङगला गाउँपालिका–१ कुहुँकी देबी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको दुखेसो व्यक्त गर्नुभयो ।

दृष्टिबिहीन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुवेदीले पनि सेवा नलिइ घर फर्कदा दुःख मात्र पाएको गुनासो गर्नुभयो ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई वटा कार्यालयसमेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताउनुभयो ।

लेखापाल सुबेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परिक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भएपनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनिका, अस्पताल प्रशासन र ब्यवस्थापन समितिबीच छलफल गरेर सेवा सञ्चालन गराउन पहल गरेको प्रमुख डाक्टर कडेलले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्