जनादेश वेदर ।
देशभर चिसो बढ्दै गएको छ। विशेषतः अहिले बिहान र बेलुका बढी मात्रामा चिसो हुने गरेको छ भने बिस्तारै दिउँसो पनि जाडो महसुस हुन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य (अर्थात् –१.०) डिग्री सेल्सियस पुगेको छ। यसपछि दोलखाको जिरीमा सोमबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस पुगेको छ।
यसैगरी सोमबार काठमाडौंको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ। आजको न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे मापन गरिने मौसमविद्ले बताएका छन्।
मौसमविद् मञ्जु बासीका अनुसार तापक्रम क्रमिक रूपमा घटिरेहको छ। ‘अहिलेसम्म तापक्रम त्यस्तो ह्वात्तै घटेको छैन’, उनले भनिन्, ‘नियमित प्रक्रियाअनुसारै तापक्रम घटिरहेको छ, ह्वात्तै घटाउने खोलको सिस्टम आइसकेको छैन।’ उनका अनुसार अहिले ‘पोस्ट मनसुन’ सिजन हो, विन्टर अर्थात् हिउँद सुरु भइसकेको छैन।
‘जुन, जुलाई, अगस्ट र सेम्टेम्बरसम्म मनसुन थियो, त्यसयता अक्टोबर र नोभेम्बरलाई पोस्ट मनसुनको अवधि मानिन्छ’, मौसमविद् बासीले भनिन्, ‘डिसेम्बर, जनवरी र फेब्रुअरीलाई विन्टर मानिन्छ।’
मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार ) बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
यसैगरी दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेभागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ।