विप्लव समूहको नेपाल बन्दः विप्लव र प्रज्वलनका कडा विज्ञप्ति, बन्दको कहाँ कस्तो छ प्रभाव ! – Janadesh Daily | ePaper

विप्लव समूहको नेपाल बन्दः विप्लव र प्रज्वलनका कडा विज्ञप्ति, बन्दको कहाँ कस्तो छ प्रभाव !


जनादेश वाच ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको कार्यक्रम राखेको छ । मूल्य वृद्धिविरुद्ध नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको थियो। जसमध्ये देशव्यापी विरोध प्रदर्शनदेखि नेपाल बन्दसम्मका कार्यक्रम रहेका थिए ।

नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । विशेषगरी लामो दूरीबाट यात्रा गरेर काठमाण्डौ आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट काठमाण्डौ आइपुगेका यात्रु काठमाण्डौका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।

यस्तै अत्यावश्यक कामले काठमाण्डौ बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाण्डौबाट छुट्ने गाडी भने नगन्य रहेका छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

नेपाल आयल निगमले पछिल्ल‍ो १० दिनको अवधिमा आयल निगमले इन्धनको मूल्य दुई पटक बढाएको हो । यो अवधिमा मात्रै खाना पकाउने एलपी ग्यासको मूल्य १२५ रुपैयाँ बढेको छ ।

कात्तिक १४ गतेसम्म १४ सय ५० रहेको ग्यासको मूल्य १५ कात्तिकमा बढेर १५ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, बुधबार रातिदेखि लागू हुने गरी थप ७५ रुपैयाँ बढाएर आयल निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ । पेट्र‍ोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँ बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुगुले बजार परिक्रमा गरी कृष्ण चोकमा परिणत भई विरोध प्रदर्शन गरेको हो

विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकार विरुद्ध चर्को नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन मागसमेत गरेका छन् । प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ताले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर , भ्रष्टाचारी मुर्दावाद, दलाल मुर्दावाद जस्ता नारा लगाएका थिए ।

विप्लवको पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिनुपर्ने बताएका छन् ।

उनले बन्द रहर नभई बाध्यता भएको भन्दै यो सरकारलाई चौतर्फी दबाब दिन बन्दलाई सहयोग गर्नसमेत आह्वान गरेका छन् ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्