के छ विप्लव बन्दको प्रभावः यस्तो छ काठमाडौंदेखि जिल्लासम्मको अपडेट – Janadesh Daily | ePaper

के छ विप्लव बन्दको प्रभावः यस्तो छ काठमाडौंदेखि जिल्लासम्मको अपडेट


जनादेश, काठमाडौँ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको ‘नेपाल बन्द’का कारण आज बिहानैदेखि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानको जनजीवनमा असर परेको छ।

दैनिक बाक्लो संख्यामा सवारीसाधन गुड्ने काठमाडौं उपत्यकाका सडक लगभग सुनसान छन्, मोटरसाइकलजस्ता निजी सवारीसाधन मात्र फाटफुट चलेका छन् । यस्तै देशको एउटा प्रमुख सहर पोखराका सडक पनि सुनसान भएका छन् । आज बिहानैदेखि पोखरामा लामो र छोटो दूरीका गाडी चलेका छैनन् ।

फाट्टफुट्ट मोटरसाइकल भने चलेका छन् । यस्तै बन्दका कारण तनहुँ र चितवनलगायत जिल्लाको जनजीवनमा पनि बिहानैदेखि असर परेको छ। तर सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले चितवनमा भने बन्दकर्ताले सवारीसाधन आवागमनमा खासै अवरोध पुर्‍याउन नपाएको त्यहाँको प्रहरीले दाबी गरेको छ । यस्तै बन्दले प्रदेश १ मा पनि मंगलबार बिहानैदेखि सार्वजनिक सवारीसाधन चलेका छैनन्।

बिहानै लामो दूरीबाट आएका सवारीसाधन गन्तव्यमा पुगेका भए पनि छोटो दूरीका गाडी चल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । अहिलेसम्म प्राप्त रिपोर्टअनुसार काठमाडौंसहित देशका विभिन्न स्थानबाट गरी विप्लवका ५३ जना नेतारकार्यकर्ता पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले दिएको जानकारीअनुसार पार्टीले आह्वान गरेको नेपाल बन्द सफल पार्न हिँडिरहेको अवस्थामा महाराजगन्जबाट ३ र साँखुबाट ३ जनालाई नियन्त्रणमा लिइएको हो।

यस्तै पोखरामा पनि बन्द गर्दै हिँड्ने विप्लवका दुई जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै चितवनमा र तनहुँमा गरी विप्लवका २१ कार्यकर्ता पक्राउ परेका छन्। चितवनमा अनेरास्ववियु क्रान्तिकारीका बागमती प्रदेश इन्चार्ज राजन साउदसहितका १० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै तनहुँमा पनि बन्दमा संलग्न विप्लवका ११ कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै इटहरीमा पनि बन्द गराउँदै हिँडका विप्लवका २४ जना कार्यकर्ता पक्राउ गरिएको कार्यकर्ता लाई इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्