जनादेश वाच।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरु प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिसिएमसीले सार्वजननिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी कुने पनि कार्यक्रम नगर्न पनि मन्त्रालयलाई सिफारिस गरेको छ।
राजनीतिकसँगै प्रशासनिक, सामाजिक कुनै पनि प्रकारका कार्यक्रम नगर्न व्यवस्था गर्न सिसिएमसीले मन्त्रालयलाई सिफारिस गरेको हो।
सार्वजनिक स्थलमा प्रवेशका लागि कोभिड खोप लगाएको प्रमाणलाई अनिवार्य गर्न पनि सिसिएमसीले सिफारिस गरेको छ। होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्र सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको हो।
माघ सात गतेपछि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ। निर्णयको बुँदा नम्बर ४ मा भनिएको छ, ‘माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने।’
हालसम्म खोपयोग्य ५५ प्रतिशत नागरिकले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।
सिसिएमसीले गरेका सिफारिश र निर्णयहरू
माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र बिदाको अवधिमा विद्यार्थीलाई खोपको व्यवस्था गर्न पनि सिसिएमसीले स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ। सहजीकरणको जिम्मेवारी प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तोकिएको छ।
यस्तै, बैठकले नेपाल प्रवेश गर्ने व्यक्तिलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ अनिवार्य गरेको छ।
कोभिडको संक्रमण जोखिम मुल्याकन गरेर आवश्यकता अनुसार स्मार्ट लकडाउन लगायतका विधि अवलम्बन गर्न सिसिएमसीले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशनका लागि गृह मन्त्रालयलाई सिफारिस समेत गरेको छ।
सिडिओहरूको बैठक आज
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्था संक्रमण तथा जोखिम न्यूनीकरणका लागि चाल्ने कदमका विषयमा छलफल गर्न आज (सोमबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्ने भएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड १९ को बढ्दो जोखिम र संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि के–कस्ता कदम चाल्ने भन्नेबारे छलफल गर्न तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का सीडीओहरुको बैठक बस्न लागेको बताइन्।
‘संक्रमणको जोखिम समेत बढेको छ। सीसीएमसी (कोभिड १९ संटक व्यवस्थापन तथा समन्वय केन्द्र)ले पनि केही निर्णय गरेर सिफारिस गरेको छ। यी सबैबारे छलफल गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको हो,’ शर्माले भनिन्।
उपत्यकाका केही ठाउँमा संक्रमण दर बढ्दै गएकाले त्यस्ता ठाउँमा के–कस्तो रणनीति अपनाउने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।बैठककको समय भने यत भइनसकेको उनको भनाइ छ। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ। देशभर दैनिक थपिने संक्रमितमध्ये आधा संख्या उपत्यकाका ३ जिल्लाको मात्रै हुने गरेको छ। आइतबार मात्रै काठमाडौं उपत्यकामा ६१५ जना संक्रमित थपिएका छन्। हाल उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ४८१ जना सक्रिय संक्रमित छन्।