डरलाग्दो दरमा बढ्दै कोरोनाः काठमाडौं मुख्य हटस्पट, पासधारीलाई सिंहदरबारमा प्रवेश निषेध – Janadesh Daily | ePaper

डरलाग्दो दरमा बढ्दै कोरोनाः काठमाडौं मुख्य हटस्पट, पासधारीलाई सिंहदरबारमा प्रवेश निषेध


जनादेश हेल्थ डेस्क

काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । बुधबार देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । बुधबार थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

एक सातामै ९ प्रतिशतले बढ्यो
नेपालमा कोरोना संक्रमण दर एक सातामै ९ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो साता आरटी–पीसीआर विधिबाट ४९ हजार ८७७ जनाको परीक्षण गरिएकोमा २ हजार ३० जनामा संक्रमण पुष्टि भएको थियो । यो साता परीक्षण दर २५.८ प्रतिशतले बढाउँदै ६२ हजार ७५५ जनाको पीसीआर परीक्षण गरेकोमा ८ हजार ३७३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । परीक्षण दर १३.३ प्रतिशतले बढाउँदा संक्रमण दर अघिल्लो साताको तुलनामा ९.२ प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ ।

सिंहदरबार छिर्ने प्रवेश पास खारेज
सिंहदरबारभित्र प्रवेश गर्न यसअघि जारी भएका सबै अस्थायी र स्थायी पास तथा परिचय पत्र खारेज गरिएको छ। कोरोना संक्रमण रोक्न भन्दै गृह मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालयलगायतबाट जारी भएका प्रवेश पास खारेज भएको जनाएको छ। मन्त्रालयका अनुसार ती निकायले अब त्यस्ता पास जारी गर्नु परेमा सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयकाे पूर्व सहमति लिनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

फितलो तयारी

छिमेकी मुलक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। नेपालमा पनि संक्रमण तीव्र बन्दै गएको छ। नेपाल सरकारले संक्रमण रोक्न देशका प्रमुख नाका वीरगंजसहित भैरहवा, विराटनगर र नेपालगञ्जमा हेल्प डेस्क स्थापना गरी चेकजाँच प्रक्रिया अगाडि बढाएको छ। तर हेल्प डेस्कको अवस्था भने विजोग रहेको छ।

कोरोना महामारीले विभिन्‍न देश अक्रान्त हुँदै गएको बेला सरकारले देशका नाकाहरुमा तयारी बिना हेल्प डेस्क स्थापना गरी ‘झारा टार्ने’ काम गरेको छ। देशको प्रमुख नाका वीरगंजको ईनर्वा भन्सार चौकी अगाडी स्थापना गरिएको हेल्प डेस्कमा चिकित्सकहरु तयारी बिना नै खटिएका छन्। प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गए पनि यसको व्यवस्थापनका लागि सरकारले तयारी भने गरिएको देखिँदैन।

तीन सिफ्टमा चिकित्सकहरु खटिने गरेपनि न त संक्रमितको लागि कुनै ठोस योजना बनाएको छ, न त चिकित्सकका लागि नै। देशको प्रमुख प्रवेशद्वारा वीरगंजमा कोरोना महामारीले पहिलो चरणमा ३ हजार १८४ जना संक्रमित र ५५ जनाको मृत्यु भएको थियो भने दोस्रो चरणमा ३ हजार ५२२ जना संक्रमित र १४२ जनाको मृत्यु भएको थियो। तेस्रो लहरको भेरियेन्ट आइसक्दा पनि सम्बन्धित पक्षले ध्यान नपुर्‍याउँदा जोखिम कम भएको देखिँदैन।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्