जनादेश वाच।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेकपाले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्।काठमाडौंस्थित राष्ट्रिय सभामा एक कार्यक्रम गर्दै उनीहरुले घोषणाका साथै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका हुन्। समाजवादी मोर्चा, नेपाल ५४ सांसदसहित संसद्मा तेस्रो ठूलो शक्ति बनेको छ। संसद्मा तेस्रो शक्ति भए पनि सिंहदरबार अर्थात् सरकारमा भने पहिलो शक्ति बनेको छ। २५ सदस्यीय मन्त्रीमण्डलमा मोर्चाबाट १० मन्त्री र ३ राज्यमन्त्री रहेका छन्।
प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री बेदुराम भुसाल, शिक्षा मन्त्री अशोक राई, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटन मन्त्री सुदन किराँती, संघीय मामिलामन्त्री अमनलाल मोदी, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो यो मोर्चाबाट रहेका छन्। यसैगरी राज्यमन्त्रीहरु सुशीला श्रीपाइली, प्रमिला कुमारी र नन्दा चपाईं पनि यही मोर्चाको सदस्य पार्टीका नेताहरु हुन्। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट जम्मा ९ जना मन्त्री रहेका छन्। नागरिक उन्मुक्ति एक, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीका एक-एक जना मन्त्री रहेका छन्।
कस्तो मोर्चा किन र केका लागि !
राष्ट्रिय राजनीतिका स्थापित दलहरूको भविष्यमाथि अनेकौँ बहस र नयाँ भनिएका दलहरूको भूमिकाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको परिदृश्यमा घोषणा हुने मोर्चाको कार्यभार कस्तो रहला, भूमिका कस्तो होला, गठबन्धन र सिंगो राष्ट्रिय राजनीतिमा मोर्चाको स्थान कहाँ रहला ? यस्ता अनगिन्ती प्रश्न र जिज्ञासाहरू जनमानसमा देखिन्छन्।
जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आम नागरिकमा अभूतपूर्व राजनीतिक एकता र जागरण मात्र पैदा गरेन, अपितु नागरिकमा असीमित आकांक्षाहरूसमेत पैदा गरिदियो। बदलिएको व्यवस्थाअनुरूप अवस्था बदल्ने प्रयत्नका बाबजूद उक्त प्रयत्नमा जनताले प्रत्यक्ष रूपमा अनुभूत गर्नेगरि परिणाम हासिल नहुँदा जनतामा कुण्ठा र निरासाका संकेतहरू देखिए। नागरिकको निरासामा खेल्न माहिर खेलाडीहरू एकपछि अर्को रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र जनताको मुक्ति र अधिकारका निम्ति दशकौँ लामो संघर्ष गरेका शक्तिहरूका विरूद्ध आम जनता भड्काउने प्रयत्नहरू लागिरहे।
राजनीतिक शक्तिहरू नागरिक आकांक्षालाई सम्बोधन र निरासाको वस्तुनिष्ठ मूल्याङ्नका आधारमा अडान बढ्ने कार्यभारमा गम्भीर नहुँदा व्यवस्थाविरोधी गतिविधि र जनमत दुबै वृद्धि हुँदै गएको देखिन्छ। खराबको विकल्प असल हुनुपर्नेमा नागरिकमा खराबको बिकल्प झन् खराब भन्ने मानक स्थापित हुनसक्ने जोखिमपूर्ण परिस्थितिमा राष्ट्रिय राजनीति खडा छ। यस्तो चुनौतीपूर्ण परिस्थितिको वैज्ञानिक विश्लेषणका आधारमा बुद्धिमत्तापूर्ण कदम चाल्न सकिएन भने जनमतबाटै हिटलर र जङ्गबहादुरहरूको उदय हुने खतरा दिन प्रतिदिन बढ्दो छ। यो चुनौतीलाई सकारात्मक रूपमा ग्रहण गरी स्वरूपान्तरण र राजनीतिलाई दर्शन, विचार र मूल्यको बाटो डोर्याउने जिम्मेवारी पनि परिवर्तनकारी शक्तिको काँधमा छ। यो जिम्मेवारी साझा उद्देश्यमा एकीकृत तागत पैदा गरेर मात्र पूरा गर्न सकिन्छ।
हामी आफैँले निकै ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट निर्माण गरेको संविधानले समाजवादोन्मुख राज्यमा जाने सङ्कल्प गर्दछ। तर, समाजवादका हिमायती शक्तिहरूबीच एकता र सहकार्यको बलियो आधार तयार नहुँदा त्यसको प्रत्यक्ष लाभ व्यवस्था विरोधीहरूले लिन थालेका छन्। यो कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूका लागि मात्रै चुनौतीको विषय नभएर लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने सबै शक्तिका निम्ति साझा सरोकारको विषय हो। तसर्थ, उल्लेखित चुनौतीहरूलाई सकारात्मक रूपमा स्वीकार गरी नेपाली समाजको अग्रगामी रूपान्तरण एवं जनअपेक्षाअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउन समाजवादी मोर्चा निर्माण ढिलो भइसकेको छ।
मोर्चाको भूमिका
सोमबार घोषणा भएको समाजवादी मोर्चा लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने कुनै शक्ति वा दलविशेषको विपक्षमा निर्माण हुने मोर्चा होइन, बरू यो त लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने पहरेदारका रूपमा दृढतापूर्वक उभिएको मोर्चा हो। मोर्चाले आफ्नो साझा उद्देश्य, कार्यक्रम र कार्ययोजना सार्वजनिक गर्ने नै छ, त्यसभित्र नै यसको वर्तमान र भविष्य अन्तरनिहित हुनेछ।
समाजवादी मोर्चाको पहिलो भूमिका संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक आधार निर्माण गर्नु हुनेछ। समाजवादको आधार निर्माणका लागि देशमा ठूलो राजनीतिक बहस र ध्रुवीकरण अनिवार्य छ। आम जनसमूहको दिलदिमागमा समाजवादी व्यवस्थाको महत्वबोध गराउनुका साथै नीति तथा कार्यक्रममा जनभावनाको प्रतिनिधित्व गर्न सकेर मात्र समाजवादको वैचारिक आधार तयार पार्न सकिन्छ, त्यसका लागि प्रारम्भमा समाजवादका सारथिहरू एकै ठाउँमा उभिए, अब समाजको अग्रगामी रूपान्तरणको वातावरण बन्छ भन्ने आत्मविश्वास जनतामा विकास गर्न जरूरी हुन्छ। मोर्चा घोषणाबाट उक्त कार्यभार आधारभूत रूपमा पूरा हुनेछ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वाम–लोकतान्त्रिक सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनमुखी नीति, कार्यक्रम एवं कार्यहरू गरिरहेको छ। तर, पार्टीको आयातन र भूमिका प्रभावकारी नहुँदा देश र जनताको पक्षमा सरकारले गरेका राम्रा कामहरू जनतासम्म पुग्न सकिरहेका छैनन्। सञ्चारमाध्यममार्फत् जाने सूचना र जानकारीमा समेत जनता विश्वस्त हुनसक्ने परिस्थिति छैन। यस्तो परिस्थितिमा सरकारले समाजवादको आधार निर्माणका निम्ति अधिकतम प्रगतिशील पहल लिने र मोर्चाले त्यसलाई जनस्तरमा पुर्याई जनतामा समाजवादी जागरण पैदा गर्ने भूमिकालाई ठीक ढंगले संयोजन गर्न सक्दा राजनीतिमा विद्यमान निरासा मात्र सम्बोधन हुने छैन, व्यवस्था, राजनीतिक दल र वामपन्थी शक्तिहरूप्रति जनविश्वाससमेत बढ्नेछ। मोर्चाले यस कार्यभारलाई समेत सकारात्मक ढंगले पूरा गर्ने अपेक्षा गर्न सकिन्छ।
हरेक राजनीतिक आन्दोलन र दलका निम्ति सिद्धान्त, विचार र कार्यक्रम आधारभूत कुरा हुन्। तर, पछिल्लो समय दर्शन, राजनीति र पक्षधरतामा आफ्नो स्वतन्त्र पहिचान नभएका शक्तिहरू क्षणिक घटनाक्रमका आधारमा आफ्ना नीतिहरू तय गरिरहेका छन्। कहाँ जाने भन्ने बाटो प्रष्ट नभइकन जति तीव्रतामा हिँडिन्छ, त्यति नै छिटो गलत मार्गमा पुगिन्छ भन्ने यथार्थ जनतामा स्थापित गर्नु मोर्चाको अर्को जिम्मेवारी हुनेछ। यसले साझा उद्देश्यका निम्ति साझा सङ्कल्प र साझा सङ्घर्षलाई केन्द्र भागमा राख्ने अपेक्षा गर्न सकिन्छ।
मोर्चाको सबैभन्दा ठूलो जिम्मेवारी र भूमिका राष्ट्र निर्माण एवं समाजवादको आधार तयार पार्न निश्चित उद्देश्यमा केन्द्रित रही साझा पहल र संघर्षबाट मात्र सम्भव छ भन्ने व्यवहारिक उत्तर दिनु हो। उद्देश्य समान राख्ने तर सामूहिक पहल नलिने अलगाबवादी राजनीतिबाट माथि उठेर मात्र वास्तविक अर्थमा देश र जनताको सेवा गर्न सकिन्छ। जब परिस्थिति र अवस्थिति फेरिन्छ, तब मनस्थिति फेरेर मात्र कुनै पनि शक्ति र पार्टीले देशको समयानुकूल नेतृत्व लिन सक्छ भन्ने सन्देश पनि यसले दिनेछ।
केही जिज्ञासाहरू
समाजवादी मोर्चा घोषणा पश्चात आम नागरिक र वामपन्थी नेता–कार्यकर्तामा केही प्रश्नहरू देखिएका छन्, ती प्रश्नहरू मूलभूत रूपमा मोर्चाको दीर्घकालीन भविष्य र राष्ट्रिय हितसँग सम्बन्धित छन्। ती प्रश्नहरूबारे विचार गर्नु सान्दर्भिक नै हुन्छ।
पहिलो, समाजवादी मोर्चाले सत्तागठबन्धनमा कुनै असमझदारी कायम गर्छ कि भन्ने प्रश्न छ। यो आफैमा महत्वपूर्ण प्रश्न भए पनि आशंका गर्ने विषय होइन। मोर्चा गठन र यसको भूमिकाले सत्ता गठबन्धनमा नकारात्मक प्रभाव होइन, सकारात्मक योगदान गर्नेछ। समाजवादी मोर्चा गठन हुँदा वाम–लोकतान्त्रिक गठबन्धन थप बलियो हुनेछ, यसले बरालिएको राजनीतिलाई दिशानिर्देश गर्न र प्रजातान्त्रिक शक्तिहरूबीच बलियो एकता कायम गर्नसमेत मनोवैज्ञानिक सन्देश दिनेछ। वर्तमान सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू सामेल छन्। ती शक्तिबीच साझा समझदारी कायम गरी सरकार अगाडि बढिरहेको छ। समाजवादी मोर्चा घोषणाले छरिएका वामपन्थी शक्तिहरू एउटै मञ्चमा उभ्याउने हुँदा सहमति र सहकार्यका लागिसमेत वातावरण सहज हुनेछ। आजको परिस्थितिमा मात्र होइन, वामपन्थी शक्तिहरू एउटै मोर्चामा रहँदा भविष्यको सत्ता हस्तान्तरणमा समेत सकारात्मक योगदान पुग्नेछ। अर्कोतर्फ, वामपन्थी जनमत गठबन्धनबाहिर जाने खतरा रोक्न र गठबन्धन प्रभावशाली बनाउन यसले भूमिका खेल्नेछ।
दोस्रो, समाजवादी मोर्चा सत्ता साझेदारी र वामपन्थी शक्तिको सत्ता लम्बाउने साधनका रूपमा त अगाडि सारिएको होइन? भन्ने प्रश्नहरू पनि देखिन्छ। यो प्रश्न पूर्वाग्रहमा आधारित छ। प्रधानमन्त्री र माओवादी केन्द्रको विगत र वर्तमानले भन्छ– राजनीतिमा जे–जति सहमति गरिन्छ, ती सबैलाई हामी इमान्दारी र दृढतापूर्वक लागू गर्छौं। वामपन्थी शक्ति कमजोर वा शक्तिशाली हुनुले सत्ता साझेदारी र हस्तान्तरणको प्रक्रियामा कुनै असर गर्दैन, किनकि हामी संयुक्त गठबन्धनमा छौँ, हाम्रो साझा विश्वास र संसदको अंकगणित नै गठबन्धनको मुख्य आधार हो।
तेस्रो, समाजवादी मोर्चाको घोषणापछि वामपन्थी पार्टीहरूको आन्तरिक पार्टी जीवन भद्रगोल त हुँदैन रु भन्ने जिज्ञासाहरू पनि झिनो मात्रामा देखिन्छ। यो चासो सकारात्मक नै भए पनि चिन्ता गर्नुपर्ने अवस्था देखिँदैन, किनकि समाजवादी मोर्चा घोषणापछि पनि कम्युनिस्ट एवं वामपन्थी पार्टीहरूको स्वतन्त्र अस्तित्व रहन्छ, आफ्नो पार्टीको विचार, नीति र कार्यक्रमअनुरूप परिचालित हुन उनीहरू स्वतन्त्र रहनेछन्। यसले पार्टीको आन्तरिक जीवनलाई भद्रगोल होइन, एकरूपता कायम गर्न सकारात्मक ऊर्जा प्रदान गर्न सक्दछ। तसर्थ, मोर्चा घोषणा छरिएका वामपन्थी पार्टीको आयातन र स्वार्थभन्दा धेरै माथिको रणनीतिक महत्वको विषय हो, सिंगो राष्ट्रको सबल नेतृत्व र समाजवादी रूपान्तरणको ऐतिहासिक कार्यभार पूरा गर्ने विषय भएकाले यसमा आवश्यक गर्न जरूरी देखिँदैन।
चौथो, समाजवादी मोर्चामा कुन–कुन दल र को–को सामेल रहन्छन् ? नेपाल समाजवादी पार्टीलगायतका वाम–लोकतान्त्रिक शक्तिसँग मोर्चामा आवद्धताका लागि सकारात्मक सम्वाद भइरहेको भए पनि निष्कर्षमा पुगिसकिएको छैन। अन्य कतिपय वामपन्थी शक्तिहरूसमेत मोर्चामा सामेल हुनसक्ने परिस्थिति छ। यस्तो परिस्थितिमा मोर्चा निर्माणमा पहल लिएका दलहरू मोर्चाको दायरा फराकिलो बनाउन प्रयत्नशील छन्। यो मोर्चाको आयतन यति नै भनेर अहिले नै निश्चित गर्न सकिँदैन। सम्बाद र मोर्चाले खेल्ने सकारात्मक भूमिका सँगसँगै मात्रा र गुण दुबैमा यसको विकास र बिस्तार हुनेछ।
पार्टी एकताको आधार
तत्कालका निम्ति समाजवादी मोर्चा नेपाली विशेषता र मौलिकतासहितको समाजवादी क्रान्तिको कार्यभारमा सहमत शक्तिहरूको संयुक्त मोर्चा हो। आधारभूत रूपमा संयुक्त मोर्चाका दुई अवधारणा हुन्छन्–एक, कार्यनीतिक संयुक्त मोर्चा र दुई, रणनीतिक संयुक्त मोर्चा। सोमबार घोषणा हुन लागेको मोर्चा क्षणिक राजनीति माग–मुद्दा, कार्यक्रम र साझेदारीका लागि घोषणा गर्ने मोर्चा होइन, बरू समाजवादको आधार निर्माणका लागि पहल गरिएको रणनीतिक संयुक्त मोर्चा हो। कार्यनीतिक संयुक्त मोर्चाहरू निश्चित उद्देश्य प्राप्तिपछि विघटित हुन पनि सक्छन्। तर, रणनीतिक संयुक्त मोर्चा दीर्घकालसम्म अगाडि जान सक्छ।
भविष्यमा यसले आफूलाई पार्टी एकताकै तहमा विकास गर्न सक्दछ। किनकी, मोर्चामा हुने छलफल, बहस र अन्तरक्रियाले विचारको क्षेत्रमा रहेका बेमेलहरूमा एकरूपता ल्याउन, भावनात्मक तिक्तता र दूरतालाई निकटतामा परिणत गर्न महत्वपूर्ण भूमिका खेल्दछ। राष्ट्रिय राजनीतिमा दुषित हावा चल्नसक्ने खतराबाट सचेत नेताहरूको टीम भएकाले मोर्चालाई कुशलतापूर्वक सञ्चालन गर्दै पार्टी एकतासम्म पुर्याउन सबैको मेहेनत रहने विश्वास लिन सकिन्छ। तसर्थ, मोर्चाले निकट भविष्यमै समाजवादी बिकल्पको बलियो अभ्यास गर्ने अपेक्षा गर्न सकिन्छ।