जनादेश वाच।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गए राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।
प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०–८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए ।
बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्यमात्र उपस्थित थिए ।
बजेटमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपाका एक सांसदले विपक्षमा मत दिएका थिए । एक जना स्वतन्त्र सांसद र प्रतिपक्षी दल नेकपा एमालेका सांसद उपस्थित भएनन् ।
नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिस्कार गरेको थियो । बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तारा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।