किनोशामा गोली चलाउने युवक पक्राउ, हिंसा नियन्त्रण गर्न सेना परिचालन – Janadesh Daily | ePaper

किनोशामा गोली चलाउने युवक पक्राउ, हिंसा नियन्त्रण गर्न सेना परिचालन


किनोशा, संयुक्तराज्य अमेरिका । संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

किनोशाबाट करिब २५ किलोमिटर टाढाको इलोनोइज राज्यको एन्टिओजका ती १७ वर्षीय युवक काइल रिटेनहाउजलाई प्रदर्शनकारीमाथि गोली चलाएको आरोप छ । प्रहरीको समर्थक बताउने ती युवकले भीडमा छिरेर प्रदर्शनकारीमाथि गोली चलाएका थिए ।

उनले चलाएको गोलीबाट दुई जनाको मृत्यु हुनुका साथै अरु एक व्यक्ति घाइते भएका छन् ।

अर्ध–स्वचालित राइफल लिएर प्रदर्शनस्थलमा पुगेका काइल रिटेनहाउजले आफूले चलाएको गोली लागेर कुनै व्यक्तिको मृत्यु भएको हुन सक्ने स्वीकार गरेका छन् ।

विस्कन्सनका गभर्नर टोनी एभर्सले तीनदिनदेखि जारी हिंसा नियन्त्रणमा ल्याउन किनोशामा ५०० जना राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिनु भएको छ । मिल्वाकी र सिकागोको बीचमा अवस्थित करिब एक लाख जनसंख्या रहेको सानो शहर किनोशाको हिंसा नियन्त्रण गर्न अरु राज्यबाट पनि सैनिक थप गर्न विचारविमर्श भइरहेको गभर्नर एभर्सले बताउनुभएको छ ।

अधिकारीहरुले साँझ ७ बजेदेखि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेका छन्, तर प्रदर्शनकारीहरुले बुधबार पनि निषेधाज्ञा उल्लंघन गरेका थिए ।

स्थानीय रिपब्लीकन र डेमोक्र्याट पार्टीका नेता, समाजसेवी र राज्यका पदाधिकारीहरुले हिंसात्मक प्रदर्शनहरु रोक्न स्थानीयवासीसँग आग्रह गरेका छन् । गभर्नर एभर्सले यस्ता पीडादायी घटना पुनः नदोहोरिने स्थिति निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभएको छ ।

वासिङ्टनमा न्याय विभागले संघीय जाँच ब्यूरोका २०० भन्दा बढी संघीय सदस्यहरुलाई किनोशा पठाउन लागिएको जनाएको छ । साथै दुई हजार नेसनल गार्डका सदस्यलाई किनोशामा तैनाथ गरिने ह्वाइट हाउसले बताएको छ ।

मंगलबार राति मारिएका एक व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार पहिलो व्यक्तिमा विस्कन्सिन राज्यका २६ वर्षीय सिल्भर लेकको मृत्यु भएको छ भने किनोशाका अर्का ३६ वर्षीय पुरुष मारिएका छन् । घाइते भएका व्यक्ति विस्किन्सनका ३६ वर्षीय वेस्ट एलिज रहेका छन् ।

गत आइतबार प्रहरीले एक निहत्था अश्वेत २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने सात राउन्ड गोली प्रहार गरेको थियो ।

उक्त घटना भएको तीन दिनपछि बुधबार गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ । रस्टेन सेस्की नामका ती प्रहरी अधिकारीले चलाएको गोली लागेर सख्त घाइते भएका ब्लेकको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

गोली चलाउने क्रममा प्रहरीले ब्लेकलाई आफूसँग भएको हतियार फाल भन्दै जोडजोडले कराएको सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर राज्यका अधिकारीहरुले ब्लेकको साथमा चक्कु रहेपनि उनले कसैमाथि आक्रमणको प्रयास समेत नगरेको बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले किनोशाको हिंसा अन्त्यका लागि आग्रह गर्नु भएको छ । रासस–एपी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्