एजेन्सी ।
कप्तान लियोनल मेस्सीले क्लब छाड्ने निर्णय बदलेको खण्डमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा गर्न सक्ने संकेत गरेका छन् ।
अर्जेन्टिनी सुपर स्टारले मंगलबार पत्र लेख्दै क्लब छाड्न चाहेको प्रष्ट पारेका थिए । उनले अध्यक्ष बार्टोमेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्धन तोड्न आग्रह गरेका थिए । एक वर्ष सम्झौताको अवधि रहँदै मेस्सीले क्लब छाड्न चाहेपछि त्यसले सबैभन्दा बढी दबाब भने अध्यक्ष बार्टोमेउमाथि परेको छ ।
बार्सिलोनाका कप्तान मेस्सीले सार्वजनिक रुपमै क्लबमा बस्ने घोषणा गरेको खण्डमा बार्टोमेउले पदबाट अलग हुने बताइएको छ । मेस्सीले पत्र पठाएपछि क्लब बोर्डको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकमा विभिन्न कोणबाट छलफल हुँदा बार्टोमेउको राजिनामाबारे पनि चर्चा भएको थियो । बार्टोमेउले त्यसबेला केहि समय मागेका थिए ।
बार्टोमेउले मेस्सी क्लबमा रहे आफूले पद छाड्ने मनासय बनाएपछि अब फेरि निर्णय पुनर्विचार गर्न मेस्सीमाथि दबाब थपिएको छ । यद्दपी यसमा उनको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । मेस्सीले केहि दिनमा नै आफ्नो भनाइ राख्ने बुझिएको छ ।
मेस्सीले क्लब छाड्ने इच्छा व्यक्त गरेपछि बार्टोमेउमाथि बोर्डको अविश्वास बढेको बताइएको छ । यसअघि पनि बार्टोमेउ र मेस्सीबीच विभिन्न प्रसंगमा मतभेद रहेको बताइएको थियो । प्रशिक्षक भालभेर्डे बर्खास्त, नेयमार अनुबन्धन, ग्रिजमनको सम्झौता लगायत विषयमा यी दुईबीच सहमति हुन सकेको थिएन ।