ईन्द्रजात्राको सांस्कृतिक पाटो – Janadesh Daily | ePaper

ईन्द्रजात्राको सांस्कृतिक पाटो


वास्तवमा भन्ने हो भने हाम्रो देशमा प्रत्येक दिन एक न एक पर्व या चाड परेको नै हुन्छ । कुुुनै पनि व्यक्ति समाज या राष्ट्रको जीवन त्यसको संस्कृतिमा निर्भर गर्दछ । साँच्चै भन्ने हो भने संस्कृति जीवनको त्यो ढोढ नशा हो जसमा जिन्दगी अवस्थित रहेको छ । जीवन कार्य छ भने संस्कृति त्यसको कारण छ । अतः त्यसमा कुनै प्रकारको फेरबदल गरी अर्कोको संस्कृति अंकाल्न खोेज्नु आफूमा आफैले बन्चरो प्रहार गर्नु बराबर हुन्छ ।

हाम्रो संस्कृति गाथामा एउटा भनाई छ “स्वधर्मे निधनं श्रेय : परधर्मो भयावह । ” यसैले न हो वास्तविक विश्व विजेताहरु साम्राज्य बिजय हेरी सांस्कृति विजयलाई बढ्ता महत्व दिइन्छ । तसर्थ नेपाली समाजमा वर्षभरिमा विभिन्न चाडपर्वहरु मनाइन्छन् । धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो समाजमा, धार्मिक आस्था अनुसार मनाइने यस्ता चाडपर्वमा ईन्द्र्र जात्रा पनि एक हो । यो खासगरीकन काठमाडौं उत्पत्यका नेवार समुदायको महान पर्वको रुपमा रहेको छ । ईन्द्र्र जात्रा प्रत्येक वर्ष भाद्र चर्तुदशीका दिन पर्ने यो पर्व काठमाडौंलगायत ललितपुर, दोलखा, भक्तपुर, धुलिखेल, आदी स्थानमा वर्षा र सहकालका देवता ईन्द्र्रको पूजा आजा गरी परम्परागत रुपमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका आगाडि धार्मिक विधिपूर्वक ईन्द्र्रध्वजसहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी ठड्याइएको लिङ्गोलाई ईन्द्र्रध्वजोत्थान पनि भनिन्छ । हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको बिशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिङ्गो ठड्याएपछि ईन्द्रजात्राको चहलपहल सुरु हुन्छ । नेपाल भाषामा योर्सी भनिने उक्त लिङ्गोमा मंगल सूचकका विभिन्न चिन्ह अंकित पताका झुन्ड्याएको उक्त लिङ्गो ठड्याएपछि फेदमा हात्ती चढेको सुनको जलप लगाइएको ईन्द्र्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिङ्गो ठड्याउँदा नेपाली सैनिकको व्यान्ड बाजा, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् ।

ईन्द्रजात्रामा ईन्द्र्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा हनुमानढोका दरबारक्षेत्रमा रहेको श्रेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई देखाइन्छ । यसअधि तान्त्रिक विधिद्वारा पूजा गरी काभे्रपलाञ्चोकको नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक ईन्द्र्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रुपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । ईन्द्र्रध्वजाको लिङ्गो ठड्याएपछि जात्रा आठदिनसम्म रहन्छ । यसरी आठदिनसम्म राजधानीका विभिन्न स्थानमा भक्कुनाच हलचोक (सवभकु), भक्तपुरको महाकालीनाच, मिजपातको मजियमत, लाखेनाच, दशअवतार तथा ईन्द्र्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने गरिन्छ । यस उपलक्ष्यमा काठमाडौंबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित ईन्द्र्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न जाने भक्तजनको घुँइचो लाग्ने गर्छ ।

त्यस्तै गरी कुमारी घर अगाडी रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ । यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन पहने याः भनेर गणेश, भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ । त्यस दिन नेवार समुदायका मानिसहरुले समथ्बजि खान्छन् । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ । यसरी आठदिन सम्म नेवार समुदायले ईन्द्रजात्रा मनाउँछन् ।

ईन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्पंसत्तः को बीचमा अग्लो डबली बनाइ चार सिंहमाथि रहेको खटमा ईन्द्र्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । संस्कृतिविद्हरुका भनाई अनुसार आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज ईन्द्र्रलाई मालीलाई नसोधि टिपेकोमा चोर सावित भै डोरीले बाँधी सबैलाई देखाएको भनी मरुटोलमा ईन्द्र्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ । यसैगरी ईन्द्र्रचोक, किलागल र नरदेवीमा पनि ईन्द्र्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ ।

ईन्द्रजात्राकै अवसरमा मध्यरातमा ईन्द्र्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखि विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रुपमा भैरवको मुखमा जडित नालीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ । लिङ्गो गाडेको तेस्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जीवित देवीकुमारी, भैरव र गणेशलाई रथमा राखि काठमाडौं पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ । यो जात्रा गर्नुअधि हनुमानढोकाको गद्दीवैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेनुपर्ने प्रचलन छ ।

यो जात्रामा राष्ट्रप्रमुख उपस्थितिमा जयप्रकाश मल्लको पालादेखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवितदेवी कुमारीको रथ जात्रा चलाए र आफू स्वयम रथमा बसि नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । यसैदिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सत्विज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन । यसपछि बहुमत निकाल्ने भनि बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन ।

यसरी इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु हो । तसर्थ १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन ईन्द्र्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् ईन्द्र्रध्वजपतनसम्म आठ दिन विभित्र नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पत्र गरिन्छ । सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि ईन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । ईन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ । धार्मिक विभिन्न पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे ।

त्रिदेव र सम्पूर्ण देवगणले देवराज ईन्द्र्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर ईन्द्र्रलाई हस्तान्तरण गरे । ईन्द्र्रले समातेकाले त्यस ध्वजालाई ईन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि ईन्द्र्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले ईन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज ईन्द्र्रले ईन्द्र्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न ईन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो ।

समग्रमा भन्नुपर्दा विश्वव्यापी कोरोनाको सन्त्रासले गर्दा यस वर्षको सबै चाडवाडहरु घर–घरमा बसेरै मनाउन नेपाल सरकारले पनि आब्हान गरेको छ । यस पौराणिक जात्राअनुसार देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा ईन्द्र्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गर्‍यो । त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच सङ्ग्राम भई देवताको जित भएको खुसियालीमा ईन्द्रजात्रा मनाउँदै आएको किवंन्दती रहेको छ । यसर्थ ईन्द्र्र जात्रा सुरु भएपछि नेवार समुदायका विभित्र पर्व सुरु हुने गर्छ ।

यस जात्राको अवसरमा हनुमानढोका अगाडि रहेको श्वेत भैरव र ईन्द्र्रचोकमा रहेको भैरवलाई एकसातासम्म सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । राजा गुणकामदेवको पालादेखि ईन्द्र्र जात्रा को प्रचलन सुरु भएको मानिन्छ ।

हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता रहेको छ । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन् । विभिन्न धर्म मान्ने मानिसहरु विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये ईन्द्रजात्रा पनि एक हो । यो चाड विशेषगरी काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न नेवार समुदाय बसोबास गरेका नेवार जातिले मनाउने गर्छन् । प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व बोकेको हुन्छ ।

त्यस्तै गरी ईन्द्रजात्रा सुरुआत राजा जयप्रकाश मल्लले गरेका हुन् भन्ने जनमानसको भनाइ रहेको पाइन्छ । यसर्थ नेवारी समुदायले मनाउने विभिन्न चाडपर्वमध्ये ईन्द्रजात्रा पनि एक महत्वपूर्ण पर्व हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्