साईबर अपराध बढ्दो – Janadesh Daily | ePaper

साईबर अपराध बढ्दो


  • शुवास गोतामे

२२ आषाढ काठमाण्डौ ।  शान्तिनगरमा बसोबास गर्दै आएका देवरानी सम्झना (नाम परिवर्तन) र जेठानी एन्जिला (नाम परिवर्तन) को सम्बन्ध राम्रै थियो। परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो। उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे। एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो। उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो। गलत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन्। जुन घटना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन्।

सम्झनाले आफ्नै संवेदनशील अंगको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन्। फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्कतबारे एन्जिला बेखबर थिइन्। लगातार एन्जिलाका साथीहरुलाई त्यस्ता फोटो र भिडियो पुग्न थाले। एन्जिलालाई दिदी भनेर सम्बोधन गर्ने एक युवकको फेसबुकमा सम्झनाले पठाएको सन्देश पुग्यो। ती युवकलाई सन्देश पठाउँदा सम्झनाले शारीरिक सम्बन्ध राख्न चाहेकोसम्म लखेर पठाएकी थिइन्। ती युवक अचम्ममा परेर आफूले दिदी मानेकी एन्जिलाको फेसबुकबाट त्यस्तो सन्देश आएपछि त्यसबारे एन्जिलालाई फोन गरेर सोधे। तब मात्र एन्जिला छाँगाबाट खसेजस्तै भइन्।

उनले फेसबुकको पासवर्ड बिर्सिएको लागेर महिना दिनदेखि फेसबुक चलाएकी थिइनन्। तर भाइ नाता पर्नेले नै उक्त सन्देशको बारेमा बताएपछि उनी छक्क पर्नु स्वभाविकै थियो। एन्जिला आफन्तसँगै महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। उनले घटनाबारे जानकारी गराउँदा फेसबुकको पासवर्ड देवरानी सम्झानालाई मात्रै सेयर गरेको बताइन्। प्रहरीले सम्झनालाई पक्राउ गरी महाशाखामा ल्याएर केरकार गर्दा सबै रहस्य बाहिर आयो। एन्जिलाको फेसबुकको पासवर्ड पुन क्रिएट गरेर प्रहरीले सम्झनाका अश्लील हर्कतबारे जानकारी लिएपछि दुबैका परिवारलाई बोलाएर मुद्दा चलाउने वा नचलाउने भनेर राय माग्दा एक पटकलाई भइहाल्यो भनेर उनीहरु राजी भए। प्रहरीले सम्झाइ, बुझाइ गरी उनीहरुलाई छाडिदियो। महाशाखामा एक हप्ता अघि मात्रै पुगेको यो उजुरीबारे रहस्य खोतल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

महाशाखाकै साइबर पिलरमा अर्को रोचक घटनाको उजुरी परेसँगै प्रहरीले मुद्दासमेत दर्ता गरेको छ। खोटाङ घर भई गौशाला बस्दै आएका एकराम राईले प्रेमिकासँग गौशालाकै एक होटलमा शारीरिक सम्पर्क गरे। राइको योजना त्यष्ति मात्र थिएन। उनले उक्त अश्लील हर्कतलाई बिकाउको वस्तु बनाए। उनले मलेसिया, कतार, दुबईमा रहेका नेपाली कामदारहरुलाई चङ्गुलमा पार्ने योजना बनाए। उनले युवतीको नाममा एकाउन्ट खोलेर अश्लील गफ गर्न थाले। गफैगफमा उनले अर्धनग्न फोटो पठाए। अरु पनि थुप्रै फोटो र भिडियो पठाएबापत पैसा पठाउन भने। केही युवाहरुले पाँच हजार, १० हजार, १५ हजार र २५ हजारका दरले पैसा पठाउन थाले। राईले प्रेमिकालाई थाहै नदिइ गरेको उक्त हर्कत दिन त पर्दाफास हुनुनै थियो।

मलेसियामा रहेका नेपाली कामदारलाई ठग्न राइले राम्रै जुक्ति लगाए। नेपाल आउँदा शारीरिक सम्पर्क गर्नसमेत तयार रहेको भन्दै सन्देश पठाएपछि ति युवाले राईको खातामा ७० हजार रुपैंया पठाइदिए। पैसा खाताबाट झिकेपछि राइ ती युवासँग सम्पर्क बिहीन भए। तब मात्रै ती युवा आफू ठगिएको निश्कर्षमा पुगेर आफ्ना दाईलाई सबै जानकारी गराए। घटनाको उजुरी महाशाखामा पुग्यो र अनुसन्धान गर्दा राई पक्राउ परे। राईले पैसा कमाउनकै लागि यस्तो हर्कत गरेको प्रहरी समक्ष स्वीकारे। महाशाखाकै सिफारिसमा महानगरीय प्रहरी परिसर टेकुले राईविरुद्ध विद्युतीय अपराध तथा सजाय ऐनमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ।

मोडेलले समेत छाडिनन्

ललितपुरकको भैंसेपाटी बस्दै आएकी युवतीको चर्तिकला झन अचम्मको छ। केही गीतमा मोडलकोसमेत काम गरेकी युवतीले खर्चको जोहो गर्न आफ्नै शरीरका विभिन्न संवेदनशील अंग फेसबुकमार्फत विभिन्न युवालाई पठाउँदै पैसा असुल्न थालेको घटना महाशाखामा पुगेको छ। सुरुमा युवतीले आफ्ना नितम्ब, छाती पठाउन थालिन्। प्रत्येक अश्लील अंग पठाएबापत उनले रकमको दरसमेत तोक्न थालिन्। यसी एक युवकबाट उनले २५ हजार रुपैयाँ लिइसकेकी थिइन्।

ती युवाले पुरै शरीरको नांगो फोटो पठाएबापत १७ हजार रुपैंया दिने बताएपछि ती युवतीले पठाइदिइन्। उनले पैसा पनि असुलिन्। उक्त युवकले शारीरिक सम्पर्कको प्रस्ताव गरी जति पनि पैसा दिन तयार रहेको बताए। युवतीले नमानेपछि युवकले उल्टै ब्ल्याकमेलिङ गर्न थाले। भनेको नमानेमा सबै फोटोहरु सार्वजनिक गरिदिने धम्की दिएपछि मात्रै युवतीको हर्कत प्रहरीमा पुगेको थियो।

अनुसन्धानमा जुटेका अपराध महाशाखाको टोलीले ती युवकलाई पक्राउ गर्‍यो। युवतीले मुद्दा नचलाउने र युवकको मोबालाइलमा सुरक्षित फोटो डिलिट गराइ सम्झाएर छाड्न सहमती गरिन्। महाशाखामा लकडाउनको तीन महिने अवधिमा साईबर सम्बन्धी एक सय पाँच वटा उजुरी परेका थिए। ती मध्ये प्रहरीले पाँच वटा घटनाको मुद्दा दर्ता गर्‍यो। अधिकांश मिलापत्र गराएर छाडेपनि केही भने अनुसन्धानकै चरणमा छन्।

अधिकांश उजुरी कुरा नमिलेपछि मात्रै

लकडाउनमा मात्रै एक सय पाँच वटा साइबर अपराधका उजुरी परेको र पीडितको कुरा सुनेर अनुसन्धान गर्दा पीडित नै पहिलो विन्दु रहेको पाएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए। दुई पक्षबीच कुरा मिल्दासम्म सबै ठिक तर नमिलेपछि मात्रै ब्ल्याकमेलिङमा जाने र प्रहरीमा उजुरी गर्ने गरेको उनले बताए। केही मात्रै साँच्चै पीडित भएर उजुरी लिएर आउने गरेको अनुसन्धानले देखाएको उनको भनाइ छ। ‘राम्रो सम्बन्ध हुन्जेल सबै कुरा एक अर्कामा सेयर गर्ने र सम्बन्ध टुटेपछि मात्रै साईबर अपराधमा उजुरी ल्याउने गरेको पाईयो।’ थापाले भने, ‘महाशाखामा उजुरी लिएर आउने अधिकांश १६ देखि २५ वर्ष उमेरसमुहका छन्। स्कुले उमेरका र राम्रै परिवारका किशोरावस्थाका केटाकेटीहरुले ख्यालख्यालमै गरेका अश्लील क्रियाकलाप पछि कुरा नमिले पछि उजुरी ल्याउने क्रम बढ्दो छ।’ यसको न्यूनीकरणका लागि अभिभावकले आफ्ना नानीहरुको हरेक गतिविधिका बारेमा चनाखो हुन जरुरी रहेको उनले बताए।

स्रोतः अन्नपूर्ण पोष्ट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्