जनादेश, काठमाण्डौ ।
गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको छ । कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि निषेधाज्ञा हटाएका हुन् ।
तीनवटा जिल्लामा हटेपछि निषेधाज्ञा भएको जिल्ला ४९ वटा भएका छन् । ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएकाछन् ।
बितेका केही दिनदेखि निषेधाज्ञा लगाउने जिल्ला थपिने क्रम घटेको छ । आंशिक निषेधाज्ञा रहेका जिल्लाहरुमा नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र जाजरकोट रहेका छन् ।
यस्तै आंशिक निषेधाज्ञा रहेको दाङमा भने आजबाट पुर्ण निषेधाज्ञा जारी हुदै छ । सरकारले जिल्ला तथा पालिकाहरुमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।