एजेन्सी ।
विश्व फुटबलकै सर्वाधिक महँगा खेलाडी तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार र खेलकुद सामाग्री उत्पादक कम्पनी नाइकीबीचको १५ वर्षे लामो सहकार्य समाप्त हुने भएको छ ।
ब्राजिलियन आउटलेट डेरियो डो पेक्सीको रिपोर्ट अनुसार नाइकीसँगको नेयमारको सम्झौता ३१ अगस्टबाट सकिँदैछ । नेयमार र नाइकीबीच सम्झौता नवीकरणको रकमबारे कुरा नमिल्दा सम्झौता थप्न नसकेको उल्लेख गरेको छ ।
१५ वर्षको अवधिमा नाइकीले नेयमारको लागि ७८.६ मिलियन युरोको साझेदारी गरेको थियो । नाइकीले नेयमार व्यवसायिक फुटबलमा नलाग्दै १३ वर्षको उमेरमा प्रायोजन गरिसकेको थियो । त्यतिबेला नेयमार ब्राजिलियन क्लब सान्तोसमा उदीयमान खेलाडीको रुपमा अघि आइरहँदा नाइकीले क्लबका लागि पनि किटहरु आपुर्ति गरेको थियो ।
पछिल्लो समय २८ वर्षीय नेयमार नाइकीको विश्वव्यापी अभियान ‘यु क्यान्ट स्टप स्पोर्ट्स’ मा देखा नपरेका कारण रुष्ट भएकाले पनि सम्झौता नविकरण हुन नसकेको बताइएको छ । नाइकीको स्रोतले हामीले साझेदारी गरेका मध्ये एक खेलाडीमध्ये अब नेयमार नरहेको बताएका छन् ।
केही रिपोर्टअनुसार नेयमार जर्मनीको खेलकुद सामग्री उत्पादक कम्पनी पुमासँग सम्झौता नविकरण गर्ने योजनामा रहेको बुझिएको छ । पुमाले इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब एसी मिलानलाई किट प्रायोजन गर्दै आइरहेको छ ।
नेयमारको नाइकीसँग सम्झौता रद्द भएसँगै पीएसजीलाई पनि घाटा हुन सक्नेछ । सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएपछि पीएसजीको किट पनि नाइकीले आपुर्ति गर्दै आएको थियो ।
त्यसबेला देखि पीएसजीले ७० मिलियन युरो कमाएको थियो । पछिल्लोपटक नेयमारले नाइकीसँग २०११ मा कोपा लिबर्टाडोरस जितेपछि २०२२ सम्मका लागि ७८.६ मिलियन पाउन्डमा सम्झौता नवीकरण गरेको थियो ।
तर, सम्झौता अवधि बाँकी रहँदै सम्झौता रद्द हुने भएपछि अमेरिकी कम्पनीमा पनि ठुलो असर पर्नेछ । नाइकीले पीएसजीसँगै चेल्सी, बार्सिलोना, इन्टर मिलान, टोटेनहम र प्रिमियर लिग च्याम्पियन लिभरपुलको किट आपुर्ति गर्दै आएको छ ।
यस्तै नाइकीले खेलकुदका हस्ती क्रिस्टियानो रोनाल्डो, भर्जिन भान डाइक, रहिम स्ट्रलिङ, लेब्रन जेम्स, सेरेना विलियम्स र टाइगर वुड्सलाई पनि प्रायोजन गरिरहेका छन् ।