चिनियाँ ग्लोबल टाइम्सको भारतलाई चेतावनीः चीनसँग भू-राजनीतिक खेल नखेल – Janadesh Daily | ePaper

चिनियाँ ग्लोबल टाइम्सको भारतलाई चेतावनीः चीनसँग भू-राजनीतिक खेल नखेल


जनादेश, काठमाडौं  ।

लद्दाखको विवादित क्षेत्रमा दुई देशका सेनाबीच पुनः तनाव भएपछि चीन र भारतबीच वाकयुद्ध सुरु भएको छ । भारतले आफ्नो भूमि चीनले अतिक्रमण गरेको आरोप लगाएपछि चीनले पनि क्रुद्ध प्रतिक्रिया जनाएको छ ।

अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण पत्रिका मानिने ग्लोबल टाइम्सले सम्पादकीय लेख्दै चीनसँग भू-राजनीतिक खेल नखेल्न चेतावनी दिएको छ । भारतले चीनविरुद्ध संवाद भन्दा पनि टकरावको नीति अख्तियार गरेको र अमेरिका लगायतका मुलुकको साथ लिएर चीनमाथि दबाब बढाउने रणनीति लिएको ठहर पनि ग्लोबल टाइम्सको सम्पादकीयमा गरिएको छ ।

भारतले लिएको टकरावको बाटोबाट अघि बढ्दा दुवै देश शिथिल हुने तर सकारात्मक नतिजा नआउने भन्दै ग्लोबल टाइम्सले भारतलाई कोरोना महामारीले थलिएको देशको अर्थतन्त्रकाबीच चीनका कम्पनीहरुसँगको सहकार्य अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार गर्न पनि सुझाएको छ ।

भारत कोरोना भाइरसको नयाँ केन्द्र बनेको ठहर गर्दै ग्लोबल टाइम्सले यही समयमा भारतले चीनसँग अनुदार नीति लिएको समेत आरोप लगाएको छ । भारतीय रवैयाका कारण अवस्था विग्रिँदै गएको र दशकौंदेखि विद्यमान सीमा व्यवस्थापनको प्रणाली भत्किएको समेत सम्पादकीयमा उल्लेख गरिएको छ ।


‘भारतका कदमले चीन र भारतबीच रणनीतिक असमझदारी बढाएको मात्र छैन यसले सीमामा टकराव बढाउँदै दुई देशबीचको सम्बन्धमा समेत गम्भीर असर पारिरहेको छ’, सम्पादकीयमा भनिएको छ ।

चीनसँगका अनेकन साझेदारीबाट हट्ने भारतीय निर्णय चीनलाई भन्दा बढी भारतका लागि घातक हुने दावी गर्दै ग्लोबल टाइम्सले दक्षिण एसियाको विशाल शक्ति भारतले अमेरिका जस्ता देशको साथ लिएर चीनविरुद्ध लाग्नु भन्दा आफ्नो छिमेकबाट लाभ लिनु श्रेयस्कर हुने सुझाव पनि दिएको छ ।

भारतले साच्चिकै चीनसँग वृहत दुश्मनीतर्फ अघि बढेमा बेइजिङ पाकिस्तान लगायतका देशको साथ लिएर अघि बढ्न सक्ने चेतावनी दिँदै ग्लोबल टाइम्सले चीन जस्तोसुकै चुनौति सामना गर्न तयार रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्