एजेन्सी ।
मिडफिल्डर इभान राकिटिच बार्सिलोनाबाट सेभिल्ला पुगेका छन् । बार्सिलोनामा ६ वर्ष बिताएर क्रोएसियन मिडफिल्डर पुनः सेभिल्ला फर्केका हुन् ।
पहिलो पटक सेभिल्लामा हुँदा १ सय ४९ खेल खेलेका राकिटिचले ३२ गोल गर्नुका साथै ४१ एसिस्ट गरेका थिए । सन् २०१४ मा सेभिल्लाले युरोपा लिग जित्दा उनी टोलीका कप्तान थिए ।
पुरानो क्लबमा फर्कंदा राकिटिचले आर्थिक रुपमा निकै घाटा छ । उनले आफ्नो तलब घटाएर सेभिल्लासँग सम्झौता गरेका हुन् । भावनात्मक रुपमा उनी सेभिल्लासँग नजिक रहेको देखिन्छ । ३२ वर्षे उनले एक दिन पुनः सेभिल्ला फर्कने सम्भावना रहेको बताउँथे । राकिटिचले श्रीमती राक्वेल माउरीलाई सेभिल्लामा भेटेका थिए ।
बार्सिलोनामा गत सिजन उनको राम्रो हुन सकेन । इर्नेस्टो भाल्र्भेर्डे र क्विके सेटिनको समयमा उनले खासै मौका पाएनन् । लगातार खेल्नका लागि पनि उनले बार्सिलोना छाड्न पर्ने अवस्था थियो ।
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि राकिटिचलाई आफ्नो योजनामा नराखेपछि उनले पुरानै क्लब जान उपयुक्त ठाने । जुलेन लोपेटेगुइका लागि राकाटिचको आगमन उत्साहजनक विषय हुनेछ । उनले रियल म्याड्रिडबाट ओस्कार रोड्रिग्वेजलाई भित्राइसकेका छन् ।