एजेन्सी ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भविष्यबारे छलफल गर्न पिता एंव एजेन्ट जोर्गे मेस्सी बुधबार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टोमेउलाई भेट्न स्पेन पुगेका छन् ।
प्राइभेट जेटमा जोर्गे अर्जेन्टिनाबाट स्पेनको बार्सिलोना एरपोर्टमा स्थानिय समय अनुसार बिहान ६ः४५ बजे पुगेका हुन् । पछिल्लो समय मेस्सी र क्लबबीच रहेको विवादका विषय टुंगाउन उनी त्यहाँ पुगेको विश्वास गरिएको छ । जोर्गे मेस्सीले बार्सिलोनका अध्यक्ष बोर्टोमेउ र बोर्डका अन्य पदाधिकारीसँग भेट्ने बताइएको छ ।
मेस्सीले क्लब छाड्न चाहेको पत्र लेखेयता उनको र क्लबबीच सम्बन्ध चिसिएको छ । ३३ वर्षे अर्जेन्टिनी फरवार्ड कुनै पनि अवस्थामा बार्सिलोना छाड्न चाहिरहेका छन् । त्यहि कारणले उनी आइतबार पिसिआर टेष्ट र सोमबारको अभ्यासमा सामेल भएनन् ।
झन्डै २० वर्ष बार्सिलोनामा बिताएका मेस्सी अब भने बार्सिलोनामा नबस्ने टुंगोमा पुगेका छन् । यद्दपी क्लबले भने त्यसमा सहमति जनाएको छैन । ला लिगाले पनि मेस्सीले क्लब छाड्ने अवस्थामा ७ सय मिलियन युरो रिलिज क्लज सम्झौतामा उल्लेख रहेको बताएको छ । मेस्सी भने सम्झौताको अन्तिम वर्ष उक्त प्रावधान लागु नहुने दावी गरिरहेका थिए ।
मेस्सी र बार्सिलोनाबीच बुधबार र बिहीबार छलफल हुने बताइएको छ । मेस्सीकातर्फबाट उनका बाबुले छलफलमा भाग लिनेछन् । यसअघि जोर्गेले नै क्लबसँग सम्झौता नविकरणबारे छलफल गरिरहँदा मेस्सीले बिचमै उक्त प्रक्रिया रोकेका थिए ।