७० करोड घुस काण्ड सार्वजनिक गर्ने मिश्रलाई अख्तियारमा हाजिर हुन निर्देशन – Janadesh Daily | ePaper

७० करोड घुस काण्ड सार्वजनिक गर्ने मिश्रलाई अख्तियारमा हाजिर हुन निर्देशन


जनादेश, काठमाण्डौ ।

तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई ७ दिनभित्र हाजिर हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना निकालेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्टसमेत रहेका मिश्रसँग प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको उजुरीबारे बुझ्न आवश्यक परेको भन्दै हाजिर हुन अख्तियारले पत्रिकामा सूचना निकालेको हो ।

७ दिन भित्र आयोगमा उपस्थित नभए कानून बमोजिम कारबाही गर्ने अख्तियारले चेतावनी दिएको छ । मिश्रले प्रेस खरीद गरेपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक गरिदिएपछि गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

अख्तियारले सूचना निकाले लगत्तै मिश्रले विज्ञप्ति निकालेर आफू जापानमा रहेको र नेपाल फर्केर प्रमाणसहित अख्तियारमा उपस्थित हुने बताएकाछन् ।

अख्तियारले अडियो रेकर्डिङ्गको डिभाइससहित आउनु भनेको तर त्यो डिभाइस जापानमा रहेकाले डिभाइस लिन जापान गएको मिश्रको विज्ञप्तिमा उल्लेख छ । नेपाल फर्कने टिकट पनि लिइसकेको उनले बताएकाछन् ।

२०७६ साल फागुन ७ गते तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा एक एजेन्टसँग ७० करोड(कमिसन) मागेको अडियो सार्वजनिक भएको थियो । जसका कारण बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्