ललितपुरमा आजदिनभर कर्फ्युः कसरी आयो यस्तो अवस्था – Janadesh Daily | ePaper

ललितपुरमा आजदिनभर कर्फ्युः कसरी आयो यस्तो अवस्था


जनादेश, काठमाडौं ।

स्थानीय गुठियारहरुले निषेधाज्ञा उल्लङ्घन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तानेपछि विहीबार ललितपुरको पुल्चोकमा तनावपूर्ण अवस्था सिर्जना भयो । जिल्ला प्रशासन, स्थानीय तह र रथयात्राको साइतले पिरोलिएका गुठियारहरुबीचको समन्वय अभावमा पुल्चोक रणभूमि जस्तो बन्न पुग्यो ।

निषेधाज्ञा तोडिएपछि प्रहरी पुग्न बाँकी नै थियो सवारी अवरोध व्यवस्थापन गर्न पुगेका ट्राफिक प्रहरीलाई रथयात्रामा सहभागीले निर्घात कुटे ।
कोरोनाका कारण साइत पूजाको समयदेखि नै आयोजक समिति एवं गुठी संस्थान लगायतका सरोकारवालाहरू अन्यौलमा थिए ।

अन्यौलकै बीच चैत २७ गते साइत पूजा गरिएको थियो भने २८ गते रथ निर्माण गर्ने काम स्थगित भएको सूचना निकालिएको थियो । तर निरन्तरको निषेधाज्ञा, नजिकिएको मलमासले रथ यात्राको साइत विग्रिने चिन्ताले व्यग्र रहेका गुठियाहरु निषेधाज्ञा तोड्दै रथ तान्न तयार भए ।
तर यस्तो अवस्था आउन नदिन गुठियार आफै, ललितपुर महानगरपालिका र जिल्ला प्रशासनबीच समन्वयको पूर्ण अभाव देखियो ।

झडपपछि मोटरसाइकल लिएर आइरहेका एक ट्राफिक प्रहरी कमल घिमिरेलाई प्रदर्शनकारीले निर्घात कुटपिट गरेका ९ जना पक्राउ पनि परेका छन् ।

विहीबारको झडपपछि रथलाई सांकेतिक रूपमा तान्ने र खटमा राखेर बुङमती पुर्‍याउने सहमति भएको छ । गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाबीच यस्तो सहमति भएको हो ।

आज दिनभर कर्फ्यु
आज विहानदेखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी विज्ञप्तिअनुसार कफ्र्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा कानुनी कारबाही गरिने उल्लेख छ ।

फाइल तस्विर

कर्फ्यु लगाइएकाले शुक्रबारको क्षमापूजा गर्ने र वैकल्पिक विधिबाट रथयात्रा पूरा गर्ने काम प्रभावित भएको छ । आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत प्रहार गर्न सक्ने चेतावनी पनि दिइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्