अमेरिकामा विश्वकै एक चौथाइ सङ्क्रमित भेटिएको तथा सङ्क्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू पुन: खोल्ने योजना अघि बढाउन चाहन्छ जसले विवाद निम्त्याएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ३० लाख नाघेको छ।
साथै एक लाख ३१ हजारभन्दा धेरै मानिसले कोभिड-१९ का कारण त्यहाँ ज्यान गुमाइसकेका छन्।
मङ्गलवार अमेरिकामा एकैदिन सबैभन्दा धेरै नयाँ सङ्क्रमित पुष्टि भएको थियो – ६० हजारभन्दा धेरै।
के चाहन्छ ट्रम्प प्रशासन?
ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको नेतृत्व गर्दै आएका उपराष्ट्रपति माइक पेन्सले अब बालबालिकालाई विद्यालय पठाउने बेला आएको बताए। उनले नियमहरू धेरै कडा हुन नहुने बताए।
उनले सङ्क्रमणका मामिला स्थिर हुँदै गएको भनेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसलाई लिएर अमेरिका ‘राम्रो स्थान’मा रहेको बताएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

मङ्गलवार अमेरिकामा ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमण पुष्टि भएका थिए जुन यसअघि जुलाई २ मा कायम ५५ हजारको कीर्तिमानभन्दा धेरै छ।
क्यालिफोर्निया तथा टेक्सस राज्य दुबैमा १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन्।
सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका कोरोनाभाइरसको सङ्क्रमणको पहिलो लहरमै अहिलेपनि ‘घुँडासम्म डुबेको’ बताएका छन्।
उपराष्ट्रपति किन आशावादी?
बुधवार अमेरिकाको शिक्षा मन्त्रालयमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति पेन्सले ट्रम्प प्रशासनका कार्यहरूको बचाउ गरे।
“हाम्रा स्वास्थ्यसेवामा लागिपरेका कर्मचारीको असाधारण कामका कारण औसत मृत्युदरमा आइरहेको कमीले हामी उत्साहित भएका छौँ,” उनले भने।

राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल (सीडिसी)ले आधिकारिक सुझावको रूपमा स्कूलहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महङ्गो र अव्यवहारिक भनेर निन्दा गरेका छन्। त्यसको केही समयमै नयाँ निर्देशिका जारी गरिने बताइयो।
उनले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिए। अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुन्छ।
यसअघि सीडिसीले जारी गरेको निर्देशिकामा विद्यार्थी तथा कर्मचारीले मास्क लगाउनु पर्ने र आवश्यक परे घरमै रहनुपर्ने उल्लेख थियो। साथै विद्यालयहरूले लचिलो कार्य समय लागु गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख थियो।
ह्वाइट हाउसकी प्रेस सचिव केले मकइनानीले राष्ट्रपति ट्रम्पले विद्यार्थीहरू सुरक्षित रहुन् भन्ने चाहेको बताइन्।
अर्थतन्त्र तथा विद्यालय खोल्ने विषयमा राष्ट्रपति ट्रम्प तथा उनका स्वास्थ्य सल्लाहकारबीच भिन्नता बढ्दो देखिएको छ।
स्रोतः बिबिसी नेपाली