चन्द्रप्रकाश नेपाली, घोराही ।
सरकारले २०७४ साल देखी रोकिएको जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २०७४ सालदेखि रोकिएको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गर्नुभएको हो ।
मन्त्रालयले भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णय बदर गरेको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतलाई यो निर्णयको परिपत्र गरिसकेको छ ।
हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको मन्त्रालयको परिपत्रमा उल्लेख छ।
भूमि उपयोगसम्बन्धी रोक लगाएका यसअघिका परिपत्र खारेज गरी नयाँ व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावली बनाई मन्त्रिपरिषदमा पेश गरेको छ । जुन पारित हुन भने बाँकी छ।
नियमावलीमा जग्गाको वर्गीकरण गरी त्यसै अनुसार प्रयोग गर्ने उल्लेख छ। तर, नियमावली पारित हुनुअघि नै मन्त्रीस्तरको निर्णयबाट मन्त्रालयले कित्ताकाँट खुला गरेको छ। यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो ।