एजेन्सी ।
बलिउड अभिनेत्री कंगना रनौत पुनः एक पटक चर्चामा छिन् । समय समयमा अभिव्यक्तिका कारण चर्चामा रहने यी सुन्दरी अभिनेत्रीको जीवनमा पछिल्लो पटक मुम्बइको विषयमा गरेको टिप्पणीले तनाव थपेको छ ।
उनलाई ज्यान मार्ने धम्की पछि ‘वाई प्लस’ क्याटगोरीको सुरक्षा दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसको अर्थ कंगनाको सुरक्षामा १० सशस्त्र कमाण्डर सिफ्टका आधारमा २४सै घण्टा तैनाथ हुनेछन् ।
के भएको हो ?
कंगनाले मुम्बइलाई पाकिस्तान प्रशासित कश्मिरसँग तुलना गर्दै ट्वीट गरेपछि उनी विवादमा तानिएकी थिइन् । मनालीमा रहेको समयमा उनले गरेको ट्वीटले विवाद र बहस मात्र होइन उनको कटु आलोचना पनि भएको छ ।
केही राजनीतिज्ञ तथा बलिउडकर्मीहरुले पनि उनलाई मुम्बइका मानिसको अपमान गरेको भन्दै गालीगलौज गरेका थिए । बुधबार मुम्बइ जाँदै गरेकी कंगनालाई त्यहाँ पुग्नुभन्दा अघि नै सुरक्षा दिइएको छ । उनलाई मुम्बइ फर्कन नदिने भन्दै धम्की आएपछि सुरक्षाको अपील गरेकी थिइन् ।
उनलाई दिएको सुरक्षाको विषयमा पनि विवाद भएको छ । कंगनालाई केन्द्र सरकारले सुरक्षा दिएको विषयलाई लिएर महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आश्चर्यजनक र दुखद् भनी टिप्पणी गरेका छन् । मुम्बइ र महाराष्ट्रको अपमान गर्नेलाई केन्द्रबाट ‘वाई’ स्तरको सुरक्षा दिइनु आश्चर्यजनक र दुखद भएको उनको भनाई छ ।
कंगनालाई सुरक्षा प्रदान गरेर केन्द्र सरकारले महाराष्ट्र र मुम्बइको अपमान गरेको भन्दै बहस समेत सुरु भएका छन् । कंगनाले सुशान्त सिंह राजपुतको मृत्युबारे विवादित अभिव्यक्ति दिन थालेपछि शिवसेनाका नेता सञ्जय राउत र अनिल देशमुखले धम्की दिएका थिए ।
यस अघि उनी ऋितिक रोशनबारेको अभिव्यक्तिका कारण विवादमा परेकी थिइन् ।