कोरोनाभन्दा खतरनाक दलाल पुँजीवाद – Janadesh Daily | ePaper

कोरोनाभन्दा खतरनाक दलाल पुँजीवाद


नेपाली राजनीतिमा लोकप्रिय शब्द हो दलाल पुँजीवाद । मुक्तिकामी नेपाली जनताले परिवर्तन, न्याय र सपना देखेर विभिन्न कालखण्डमा आन्दोलन गरे तर वाकपटुताले भरिपूर्ण उखान टुक्कामा पिएचडी बरावरको दक्षता हासिल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दलाल पुँजीवादी अर्थतन्त्रको चिहानमाथि समृद्धिको यात्रा गर्न खोजेका छन् । आमूल परिवर्तनमार्फत् समानता र सामाजिक न्याय स्थापित गराउन १० वर्षे जनयुद्ध भएको थियो ।

यस अवधिमा जनताले सो प्राप्तिका लागि असाध्यै जटिल, कठिन र बलिदानी संघर्षको बाटो लिएको थियो । तर त्यो आन्दोलन संझौतामा टुंगियो । दश वर्षे जनयुद्धमा अरु आन्दोलनभन्दा तुलनात्मक रुपमा केही नयाँ भौतिक परिवेश निर्माण गर्न सफल रह्यो । यसले आमनेपाली जनतामा सचेत भने ह्वातै बढायो ।

यो आलेख दलाल पुँजीवाद के हो ? दलाल पुँजीवादको निरन्तरता कहिलेसम्म होला ? मुलुकमा दलाल पुँजीवादको हाबी किन भइरहेको छ ? दलाल पँुजीवादको चरित्र कस्तो हुन्छ ? यसको सुरुआत कहिलेबाट भयो ? दलाल पुँजीवादी अर्थतन्त्रको सट्टा किन स्वाधीन अर्थतन्त्र हुन सकेन मुलुकको ? दलाल पुँजीवादको चिहानमाथि समृद्धिको यात्रा किन कठिन छ ? किन राजनीतिक व्यवस्था परिवर्तन सँगसँगै हाम्रो अर्थव्यवस्था परिवर्तन हुन सकेन ? के दलाल पुँजीवाद कोरोनाभन्दा खतरनाक भाइरस हो ?

यी सबै प्रश्न गहन र जटिल छन् । देशलाई समृद्धिको यात्रामा अघि बढाउने हो भने समृद्धिका अभियान्ताले अर्थात् देशका शासकले यी प्रश्नमाथि घोत्लिनै पर्ने देखिएको छ । तर पङ्तिकारलाई शासकले यी प्रश्नमाथि घोत्लेलान भन्ने पटक्कै विश्वास गरेका छैनन् ।

हुन त कोभिड–१९ ले सिड्गो मानव जातिलाई ठूलो क्षति गरेको छ परन्तु यसले पुँजीवादी विश्व अर्थ राजनीतिक सम्बन्धमा केही महत्वपूर्ण विशेषता उजागर गरेको छ । यसलाई बुझ्न जरुरी छ । पुँजीवादी अर्थव्यवस्थामा पुँजीको लगानी र उत्पादनमा नागरिकको आवश्यकतामा सम्बन्धित नभएर पुँजी निर्यात गर्ने देश र पुँजीपतिलाई बढीभन्दा बढी फाइदा कसरी हुन्छ, बढी नागरिकलाई उपभोगका लागि तान्न सकिन्छ भन्ने सँग मात्र सरोकार छ । जनता, समाज र राज्यलाई के फाइदा हुन्छ भन्ने कुरा पूर्णरुपमा कति पनि सोचिएको हुँदैन । आफ्नो कम्पनी, समूहलाई मुनाफा हुन्छ कि हुँदैन भन्ने बिषय मात्र प्रधान हुन्छ । समाजमा हुर्किएका सबै विकृतिको स्रोत यही उपभोगवादी चरित्र नै हो भन्न सकिन्छ ।

यो चरित्रको विशेषता समाज र राज्यलाई प्रगति तर्फ लानुको सट्ठा, पुरानै राज्यब्यवस्थालाई कायम राख्न मद्दत पु¥याउँछ । पुँजीको सन्दर्भमा माक्र्सले यसो भन्नु हुन्छ– ‘मालको परिचालन पुँजीको प्रस्थान विन्दु हो । मालको परिचालनको अझ विकसित त्यो रुप जसलाई वाणिज्य भनिन्छ, त्यसबाट यो ऐतिहासिक आधार तयार हुन्छ, जसबाट पुँजी उत्पन्न हुन्छ ।’ उत्पादित वस्तुको परिचालन अर्थात् मालको परिचालन भनेको मालको मुद्रामा रुपान्तरण र फेरि त्यो मुद्राको मालमा रुपान्तरणको एउटा सरल प्रक्रिया हो ।

पुँजीले पुँजी जन्माउँछ । यसलाई पुनर्उत्पादन भनिन्छ । पुँजीले बढी पुँजी फेरि बढी पुँजीले झन बढी पुँजी यसरी आफूले श्रम नगरिकन भएको श्रमको उपज पुँजीमाथि पुँजीपतिको अधिकार हुने ब्यवस्था पुँजीवादी ब्यवस्था हो । यो नै मानव समाजका गरिबी, बेरोजगारी, भोकमारी र सबै दुर्भाग्यको बाबु हो । थोरै पुँजीपतिले धेरै श्रमिकको श्रमको शोषण गर्ने हुँदा अन्त्यमा धेरै श्रमिकको संगठित प्रतिरोधले यो पुँजीवादी ब्यवस्था समाप्त हुनेछ । यही नै माक्र्सले पुँजीवादको यौवन कालमा लेखिदिएको ‘ पुँजी’ को जन्मकुण्डलीको सार हो ।

सामन्तवाद र पुँजीवादले आफ्नो संकट हल गर्न र श्रमजीवी जनताबाट आआफ्नो सत्ता जोगाउन एकता गरेपछि दलाल पुँजीवादको उदय भयो । दलाल पुँजी भनेकै राष्ट्रको पुँजी कच्चा पदार्थ, श्रम शक्ति र राष्ट्रिय पुँजीका प्राकृतिक स्रोतसाधन साम्राज्यवादी एकाधिकार, पुँजीपतिवर्गलाई बेचेर उनीहरुले दिएको जुठो पुरोमा बाच्ने पुँजी हो ।

अहिले नेपालका आर्थिक क्षेत्रमा भएको भ्रष्टाचार, कमिसन, कालोबजार र राजस्वछली लगायतका अनेकन समस्या दलाल पुँजीका उपज हुन् । राज्यको स्रोत साधन र पुँजीको लुटपाट गर्नु दलाल पुँजीपतिवर्गको ध्याउन्न नै हुन्छ । श्रमजीवी जनतलाई पुँजीवादले दमन गर्न नसक्ने स्थिति सिर्जना भएको, तेस्रो विश्वमा पुँजीवादी जनवादी क्रान्ति समेत रोक्ने उद्देश्य रहेको साम्राज्यवाद र विस्तारवादको हित अनुकुल सन्धिसम्झौता गर्ने जस्ता दलाल पुँजीवादका चरित्र हुन् ।

त्यतिमात्र होइन, कमिसनबाट ठूलो रकम पुँजी संकलन गर्ने चरित्र पनि दलाल पुँजीवादकै हो । वर्तमान लोकतन्त्र दलाल पुँजीवादको मुख्य उपकरण हो । २०४९ सालमै नेपाली काँग्रेसको सरकारले ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ र औद्योगिक ब्यवस्था ऐन’ मार्फत् विदेशी पुँजीलाई नेपालमा अझ बढी सहुलियत दिने ब्यवस्था गर्यो ।

त्यसैसाल ३ वटा ठूला सार्वजनिक उद्योग भृकुटी कागज कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना र हरिसिद्ध इट्टा टायल कारखाना निजीकरण गर्‍यो । २०५० सालमा निजीकरण ऐनजारी गरेर त्यस प्रक्रियालाई कानूनतः संस्थागत गर्यो । त्यसपछि बनेका सम्पूर्ण सरकारले त्यही दलाल पुँजीवादले अंगीकार गरेका सम्पूर्ण बाटालाई अनुशरण गरेका छन् ।

दलाल पुँजीवादको घनिभूत उपस्थिति २०६२/०६३ को राजनीतिक उपलब्धिपछि झन् बढेर गयो । दलाल पुँजीवादी अर्थतन्त्रको नीतिको कारण अहिले हाम्रो अर्थतन्त्र ब्यापार घाटाले थलिएको छ । मुलुकको आर्थिक बर्ष २०७१÷७२ मा ७ खर्ब ७५ अर्ब बराबरको आयात भयो भने ०७२/०७३ मा ७ खर्ब ७४ अर्ब भयो । आ.ब. ०७३/०७४ को आयात ९खर्ब ४८ अर्ब पुग्यो भने ०७४/०७५ को आयात ११ खर्ब ६२ अर्ब पुग्यो । आर्थिक वर्ष ०७५/०७६ मा व्यापार घाटा त्यसै वर्षको वजेटको आकार १३ खर्ब १५ अर्बलाई उछिनेको छ । नेपालको इतिहासमा यो संभवत पहिलो उच्च विन्दु हो । मुलु्कको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा व्यापार घाटा कोरोनाको कारणले केही कम भए पनि उच्च नै छ । जुन भोलिका दिनमा यो आयतन अझ डरलाग्दो नहोला भन्न सकिन्छ । कतै मुलुक विश्व ब्यापार संगठनको सदस्यता लिएपछि ब्यापार घाटा चुलिंदै गएको त होइन ? प्रश्नवाचक चिन्ह खडा भएको छ । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको छ । तर यो नारालाई सार्थक बनाउन ब्यापारघाटालाई न्यूनीकरण नगरी सम्भव छैन ।

हाम्रो ब्यापारघाटा दिनप्रतिदिन चुलिनुको मुख्य कारण स्वाधीन अर्थतन्त्र नभएरै हो । यसो हुनुको रहस्य यहाँका साशक वर्गले केही अपवादलाई छोडेर विगतदेखि अहिलेसम्म भारतीय शासकवर्गलाई खुसी नतुल्याएसम्म र उसको रणनीतिअनुसार नहिँडेसम्म सत्तामा पुग्न सकिंदैन भन्ने मनोविज्ञानले काम गरेको छ । नेपाल सार्वभौम सम्पन्न राष्ट्रभएपनि राजनीतिक दृष्टिले भारतसँग आश्रित तथा आर्थिक दृष्टिले पराधीन देखिन्छ । यसको अन्त्य हुन जरुरी छ । यसका लागि हाम्रा नीति र प्राथमिकता फेरिनु पर्छ ।

त्यसको लागि सबैभन्दा पहिले हाम्रो संरचना नै परिवर्तन गर्नु पर्छ । अर्थात् खुलेर भन्नु पर्दा दलाल पुँजीवादी अर्थब्यवस्था जरैबाट फान्नु पर्छ । जबसम्म हामीले यी कुराहरु गर्न सक्दैनौ तबसम्म सम्पन्न र स्वाधीन रहन सक्दैनौं ।

दलाल पुँजीवाद कोरोनाभन्दा खतरानाक भाइरस हो । कोरोनाले त बीस तीस लाख मान्छेको ज्यान लेला । तर यो भाइरसले करोडौं मानिसको ज्यान लिने तयारीमा छ । यो भाइरसले विश्वका झण्डै १५० मुलुकहरुमा साम्राज्य फिजाइसकेको छ । संयुक्त राष्ट्रसंघ कन्फरेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (अंकटाड) का अनुसार हामी बाँचेको संसारमा १२ देखि १४ अर्ब मानिसलाई पुग्ने अनाज उत्पादन गरिन्छ । तर दुई अर्ब जति सर्वसाधारण मानिस खासगरी दक्षिण गोलार्धमा अवस्थित साना किसान र कृषि मजदुर नै भोक र कुपोषणबाट पीडित हुने गरेका छन् ।

वास्तवमा यो आउनुमा दलाल पुँजीवादको परिणाम हो । प्राकृतिक स्रोत र साधन दलाल पुँजीवादको हातमा परेकाले र साना किसानको हातमा भूमि र पुँजी नपरेकोले यो समस्या आएको हो ।

२२ अप्रिल २०२० मा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममा कार्यकारी निर्देशक डेभिड विस्ले संयुक्त राष्ट्र सुरक्षा परिषद्को छलफलमा उपस्थित विश्वका नेतासामू चेतावनीयुक्त स्वरमा भन्दै थिए, ‘हामी भोकैको महामारीको डिलमा उभिएका छौं । कुनै नयाँ कदम चालिएन भने केही महिनाभित्रै दोस्रो महायुद्ध पछिको सबैभन्दा ठुलो मानवीय संकट हामीले भोग्नु पर्नेछ । सिरिया, यमन, युक्रेन युद्ध, अफ्रिकामा सलह प्रकोप, लेवनान, कंगो, इथोपिया, सुडान तथा नेपाल (भुइचालो बाट भएको क्षतिको अर्थमा) आर्थिक संकट तथा प्राकृतिक प्रकोप बढेका छन् ।

संसारभर ८२ करोड १० लाख मानिस साँझ भोकै सुत्ने गरेका छन् । थप १३ करोड ५० लाख एक छाकमा जीवन चलाउनु पर्ने अवस्था तिर धकेलिदै छन् ।’ यो कोभिड १९को संक्रमणले विश्वव्यापी रुप ग्रहण गर्नु माथिको तस्विर हो । कोभिड १९ पछि सन् २०२० को अन्त्य सम्ममा थप १३ करोड मानिस भोकमरीको महामारीमा धकेलिने छन् । उनले भने, ‘उचित प्रबन्ध नगर्ने हो भने तीन महिनामा तीन लाख मानिसले भोकको कारण मृत्युवरण गर्नु पर्नेछ ।

कतिपय मुलुकका खाद्य संकटका कारण सामाजिक द्वन्द्व निम्तिने छ । अरु धेरै कोभिड १९ को महामारीभन्दा आर्थिक कठिनाइका कारण मृत्यु बेहोर्न बाध्य हुनेछन् तथा लकडाउनको कारण पैदा हुने आर्थिक मन्दीले सबैभन्दा धेरै श्रमिक वर्ग रेमिट्यान्सबाट धानिएका मुलुक खासगरी हैटी, नेपाल र सोमालियामा सबैभन्दा बढी चोट पुग्ने छ ।’

(लेखक खरेल अर्थ राजनीतिक विश्लेषक हुन् ।)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्