जनादेश, काठमाडौं ।
कोरोना महामारीका कारण संसारभरको रोजगारी बजार प्रभावित हुँदा लाखौंको संख्यामा नेपाली श्रमिकहरु पनि प्रभावित भएका छन् । लाखौंले रोजगारी गुमाएका छन् भने हजारौं महिनौंदेखि भोकभोकै विदेशी भूमिमा उद्दारको पर्खाइमा छन् ।
सहज समयमा पठाएको रेमिटेन्सबाट तलव भत्ता खाने सरकारले अहिले अफ्ठेरो समयमा आफूहरुलाई चरम वेवास्ता गरेको भन्दै खासगरी खाडी क्षेत्रमा अलपत्र नेपाली श्रमिकको आक्रोश बढिरहेको छ ।
परिणामस्वरुप मंगलबार साउदी अरेवियाको राजधानी रियादमा प्रधानमन्त्री केपी ओली र दूतावासविरुद्ध नारावाजी हुन पुग्यो । रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा भएको दृष्य फेसबुक लगायतका माध्यम हुँदै नेपाल आइपुग्दा राष्ट्रिय/अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको छ ।
महिनौंदेखि अलपत्र परेर घर आउने समय कुरिरहेका तर घर आउने तय भएर पनि अन्तिम समयमा रोकिएकाहरुले आक्रोशि भएर प्रधानमन्त्री ओलीलाई ‘देश छोड्’ भन्दै सरापे र ‘नेपाली दूतावास खारेज गर’ भन्ने नारा लगाए ।
कम्पनीमा निकालिएका र नेपाल फर्किन पाउने आश्वासन पाएको महिनौंसम्म विदेशी भूमिका अलपत्र नागरिकले सरकारलाई सराप्नु अप्रत्यासित होइन । बरु उनीहरुको उद्दारमा भैरहेको रहस्यमय ढिलाई भने सोचनीय देखिन्छ ।
अन्तर्राष्ट्रिय उडान र उद्दार उडानबारे सरकारमा देखिएको अलमल, अनियमितता र विवादले विदेशी भूमिमा अलपत्र परेकाहरुलाई झनै निराश तुल्याएको छ ।
रोजगारी गुमाएकाहरु धेरैजसो टिकट किन्ने पैसा नपाएर बसिरहेका छन् । कोरोना महामारीको समयमा उनीहरुलाई जसरी जस्तो अवस्थामा राखिएको छ त्यसले जन्माएको आक्रोश अनपेक्षित होइन ।
साउदीमा मात्र १२ हजारभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन विमानको पर्खाईमा छन् । साउदीमा पीसीआर परीक्षण गर्न सम्भव नभएको कारण देखाएर नियमित उडान नखोलेको सरकारले उनीहरुलाई उद्दार गर्नेबारे केही भनेको छैन ।
साउदीमा मात्र होइन कतार, यूएई र कुवेतमा पनि नेपाली श्रमिकका दुःख भनिनसक्नु छ । कतारबाट फर्किन चाहनेहरुको संख्या नै १२ हजार भन्दा बढी छ ।
रेमिटेन्स बढेको आँकडा देखाउन पाउँदा दंग देखिने सरकारी अधिकारीहरु विदेशी भूमिमा अलपत्र अवस्थामा रहेका श्रमिकको उदारमा उदासिन रहनु लाजमर्दो र विडम्बनापूर्ण विषय हो ।