एजेन्सी ।
इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फरवार्ड पाउलो डीबालासँग नयाँ सम्झौताको नजिक रहेको बताइएको छ । उनी टोलीका महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन् ।
टोलीको च्याम्पियन्स लिग जित्ने अभियानका लागि उनी महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिएका छन् । युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाटाटिकी र डेबालाका एजेन्ट जर्ज अन्टुनबीचको छलफल पछि नयाँ सम्झौताको नजिक पुगिएको बताइएको छ । नयाँ सम्झौता ५ वर्षको हुने बुझिएको छ ।
सम्झौता नविकरणपछि आन्द्रे पिर्लोको टोलीमा डेबाला दोस्रो सर्वाधिक आम्दानी गर्ने खेलाडी बन्नेछन् । टोलीमा क्रिस्टियानो रोनाल्डोले सर्वाधिक पारिश्रमिक लिँदै आएका छन् । यसअघि प्रशिक्षक मौरीजियो सार्रीले सिजनको सुरुवातमा डिबाला आफ्नो योजनामा नरहने संकेत दिँदै उनलाई बेच्न खोजेका थिए । तर डिबालाले सिजनभर राम्रो प्रदर्शन गरे ।
नयाँ सम्झौता अनुसार डीबालाले सिजनमा ७ मिलियन युरो प्राप्त गर्नेछन् । बोनससहित गरेर उनले बार्षिक १० मिलियन युरो सम्म प्राप्त गर्ने सम्भावना रहन्छ । यस सम्झौतासँगै उनी टोलीमा सर्वाधिक तलब लिने सूचिको दोस्रो स्थानमा हुनेछन् । रोनाल्डोले सर्वाधिक ३१ मिलियन युरो बुझ्ने गरेका छन् । डिफेन्डर म्याथिस डे लिग्टले वार्षिक ६.५ मिलियन युरो बुझ्दै आएका छन् ।
नयाँ सम्झौतामा डिबालाले हाल बुझिरहेको ५ मिलियन युरोमा उल्लेख्य वृद्धि हुँदैछ । अर्जेन्टिनी फरवार्ड डिबालाले आफ्नो भविष्य युभेन्टसमा नै समर्पित गरेपछि अन्य टोलीको इच्छामा पनि पूर्णविराम लागेको छ ।
म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन, रियल म्याड्रिडले नयाँ सिजनमा भित्राउने इच्छा देखाएपनि युभेन्ट्सले उनलाई विक्री गर्न चाहेन । गत सिजन टोटेनहमसँग क्लबले सहमति गरेपनि यसपटक भने इंग्लिस टोलीले उनलाई भित्र्याउने योजना अगाडि सारेको थिएन ।