एजेन्सी ।
अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन एमएलएस टोली इन्टर मायमीमा आबद्ध हुने भएका छन् । सन् २०१६ मा युभेन्ट्समा आबद्ध भएका ३२ वर्षे हिगुआइन टोलीमा पूर्व सहकर्मी ब्लेसे माटुइडीसँग फेरि एक पटक सँगै हुने भएका छन् ।
युभेन्ट्ससँगको सम्झौता अर्को वर्षमा सकिने भएपछि दुवै पक्ष यो सिजनमा क्लब छाड्नका लागि सहमत भएका थिए । इटालियन सञ्चारमाध्यमका अनुसार हिगुआइन मायमीसँग सम्झौता गर्नका लागि अमेरिका पुगिसकेका छन् । मायमी पूर्व फुटबल स्टार डेभिड बेकह्यामको टोली हो ।
बेकह्याम र हिगुएनले २००६-०७ को सिजनसँगै रियल म्याड्रिडमा बिताएका थिए । मायमीले केहि घन्टामा हिगुआइनलाई सार्वजनिक गर्ने छ । युभेन्ट्सले पनि उनले क्लब छाडेको पक्का गरेको छ । युभेन्ट्सबाट हिगुआइनले १ सय ४९ खेलमा ६६ गोल गर्नुका साथै १६ एसिस्ट गरेका थिए ।
हिगुआइन एमएलएस क्लब पुगेसँगै उनको १४ वर्षे युरोप बसाई सकिएको छ । हिगुआइनले १४ वर्ष युरोपमा रहँदा रियल म्याड्रिड, नेपोली, युभेन्टस, एसी मिलान र चेल्सीबाट व्यवसायिक खेल खेलेका थिए । युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रिए पिर्लोले उनीसँग व्यक्तिगत छलफल गर्दै आफ्नो योजनामा नरहेेको जानकारी दिएका थिए ।
अर्जेन्टिनी क्लब रिभर प्लेटबाट खेल जीवन शुरु गरेका हिगुआइनले २००७ देखि २०१३ सम्म स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलेका थिए । उनले रियलबाट २६४ खेलमा १२१ गोल गरे । त्यसपछि इटालियन क्लब नेपोलीमा तीन सिजन बिताएका हिगुआइनले १४६ खेलमा ९१ गोल गरे ।
त्यसपछि युभेन्टस पुगेका हिगुआइनले युभेन्टसबाट १४८ खेलमा ६६ तथा लोनमा एसी मिलानबाट २२ खेलमा ८ तथा इंग्लिस क्लब चेल्सीबाट १९ खेलमा ५ गोल गरेका थिए ।
उनले रियलबाट तीनपटक ला लिगा, दुईपटक सुपर कोपा र एकपटक कोपा डेल रे जितेका छन् । नेपोलीबाट समान एकपटक कोपा इटालिया र सुपरकोपा जितेका छन् । यस्तै युभेन्टसबाट तीनपटक सिरी ‘ए’, दुईपटक कोपा इटालिया र चेल्सीबाट एकपटक युरोपा लिग जितेका छन् ।