रियल म्याड्रिडको सहज जित – Janadesh Daily | ePaper

रियल म्याड्रिडको सहज जित


एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले शुक्रबार घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा आलाभेसविरुद्ध २-० को सहज जित दर्ता गरेको छ । रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले १ गोल र १ असिस्ट दिए ।

खेलको दोस्रो मिनेटमा नै पाहुना टोली आलाभेसले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । जोसेलुको हेडर क्रसबारमा लागेर फर्केपछि लुकास पेरेजले रिबाउन्डमा गरेको प्रहारलाई राफाएल भारानले गोललाइनबाट बचाए ।

खेलको ११ औं मिनेटमा घरेलु टोली रियलले करीम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो । आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा बेन्जेमाले लिगको १८ औं गोल गरे ।

१४ औं मिनेटमा रियलका मिडफिल्डर टोनी क्रुसको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । खेलको ३६ औं मिनेटमा आलाभेसका ओलिभर बर्कले उत्कृष्ट बल नियन्त्रणको नमुना प्रस्तुत गर्दै जोसेलुलाई पास दिएपनि गोल हुन भने सकेन । इन्ज्युरी समयमा बेन्जेमाको प्रहारलाई गोलरक्षक रोबर्टोले विफल पारे ।

दोस्रो हाफको सुरुवाती समयमा नै रियलले अग्रता दोब्बर पार्यो । रोड्रीगोको थ्रु पासमा बेन्जेमाले बल अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक भित्र दिएको पासलाई  मार्को एसेन्सियोले गोलमा परिणत गरे । रेफ्रीले सुरुवातमा उक्त गोललाई अफसाइडका कारण अयोग्य भनेपनि भीएआरको सहायतासँगै गोलले मान्यता पाएको थियो ।

६१ औं मिनेटमा जोसेलुको प्रहारमा रियलका गोलरक्षक थिबाउट कोर्टुवाले राम्रो बचाउ गरे । ६७ औं मिनेटमा रियलका टोनी क्रुस र केहि बेरपछि नै लुका मोड्रीचको प्रहारलाई गोलरक्षक रोबर्टोले सहजै नियन्त्रणमा लिए । ७५ औं मिनेटमा बेन्जेमाको पासमा रोड्रीगोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक रोबर्टोले विफल पारे ।

यस जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा पुन: ४ अंकको अग्रता कायम गरेको छ । रियलको ३५ खेलमा ८० अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेका छन् । रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ । लिगमा अब ३ चरणका खेल बाँकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्