जनादेश, काठमाडौं ।
नेपाली कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ । महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः प्रवेश पाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।
संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी रहेको समाचारमा उल्लेख छ ।
संविधानमा रहेको धर्मनिरपेक्षताप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता खुमबहादुर खड्काले पार्टीभित्र र बाहिर हिन्दूराष्ट्रको पक्षमा बहस चलाएका थिए। उनको निधनपछि मलिन बनेको उक्त मुद्दा त्यतिबेला खड्कानिकट केन्द्रीय सदस्य शंकर भण्डारीलगायत नेताले उठाउन थालेका हुन् ।
काठमाडौंमा दुई वर्षअघि सम्पन्न महासमिति बैठकमा सहभागी १ हजार ४ सय सदस्यमध्ये करिब ७ सयले हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर बुझाएका थिए।
त्यसलगत्तै बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू बालकृष्ण खाँण, एनपी साउद, डा. शेखर कोइरालालगायतले पनि धर्मनिरपेक्षताका ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने माग चर्को रूपमा उठाएका थिए। यसअघि मौसमी रूपमा कांग्रेसमा धर्मको विषयले चर्चा पाउँदै आए पनि महाधिवेशन नजिकिएसँगै शीर्ष नेता हिन्दूराष्ट्रका विषयमा बोल्न थालेका हुन्।
यो पनि हेर्नुस् – नेकपा स्थायी समितिको निचोड र केन्द्र भागमा प्रचण्डको प्लेसिङ
भारतीय कांग्रेसमा उथल पुथलको संकेत, गुलाम नबी आजादलाई महासचिवबाट हटाइयो