कोरोना भाइरस नेपाल: सरकारी अधिकारी भन्छन्, ‘काठमाण्डूमा सङ्क्रमण भुसमा आगो हुन सक्छ; वृद्धहरूलाई जोगाउनै गाह्रो’ – Janadesh Daily | ePaper

कोरोना भाइरस नेपाल: सरकारी अधिकारी भन्छन्, ‘काठमाण्डूमा सङ्क्रमण भुसमा आगो हुन सक्छ; वृद्धहरूलाई जोगाउनै गाह्रो’


स्रोतः बिबिसी नेपाली

काठमाण्डू

लकडाउन खुकुलो पारिएसँगै काठमाण्डूमा ह्वात्तै जोखिम बढेको बताइएका बेला काठमाण्डूमा मात्रै थप २५ हजार पीसीआर परीक्षण गर्न सुरु गरेको अधिकारीहरूले जनाएका छन्।

काठमाण्डू जस्ता सहरमा सङ्क्रमण समुदायमा फैलिन सुरु भए त्यो ‘भुसमा आगो’जस्तो हुन सक्ने हुँदा परीक्षणको दायरा बढाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

काठमाण्डूमा सङ्क्रमण पुष्टि हुने सङ्ख्या बढिरहेको अवस्थामा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजन मार्फत गरेको सम्बोधनका क्रममा सबैमा थप गम्भीरता, अनुशासन र सचेतना आवश्यक रहेको बताएका थिए।

सम्बोधनका क्रममा ओलीले गत असार ९ गते देखि २४ गतेका बीच मात्रै उपत्यकामा सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख गरेका थिए।

  • काठमाण्डू उपत्यकामा सङ्क्रमण बढिरहँदा सरकारी रणनीति के छ
  • काठमाण्डू उपत्यकामा ुतीन वर्गका सङ्क्रमितु, कोरोनाभाइरस समुदायमा नफैलिएको दाबी

    असार ९ गते काठमाण्डू उपत्यकामा ६३ जना सङ्क्रमित रहेकोमा २४ गते उक्त सङ्ख्या २३३ पुगेको थियो।

“यसले सङ्केत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदै छ,” उनले भने। “यो सङ्क्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ।”

वृद्ध र दीर्घरोगीलाई जोगाउन गाह्रो

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भिडभाड बढी हुने स्थानमा कोभिड-१९ सङ्क्रमण फैलिन सक्ने जोखिम उच्च रहने हुँदा काठमाण्डूमा थप सतर्कता अपनाउन आवश्यक छ।

“देशको कुल जनसङ्ख्याको ६ भागमा एक भाग काठमाण्डूमा बस्छ। यहाँ आर्थिक गतिविधि बढी हुने हुँदा जोखिम उच्च छ,” उनले भने।

“त्यसकै कारण हामीले मुलुकका मुख्य मुख्य सहरहरूमा ४५ हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएका छौँ। त्यसमध्ये २५ हजार काठमाण्डूमा गरिने छ।”

कोरोनाभाइरस नेपाल

काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमण परीक्षण गराउन चाहनेहरूको सङ्ख्या बढेको छ

काठमाण्डूमा वृद्ध र दीर्घरोगीहरूको सङ्ख्या पनि तुलनात्मक रूपमा धेरै रहेकाले कारण सङ्क्रमण फैलिएको खण्डमा उनीहरूलाई अत्यन्त जोखिममा पर्ने उनी बताउँछन्।

नेपालमा हालसम्म सङ्क्रमितमध्ये ज्यान गुमाउनेहरूको सङ्ख्या ३५ छ जून कूल सङ्क्रमितहरूको ०.२१ प्रतिशत हो।

“७० वर्ष भन्दा बढी उमेर भएका र ६० वर्ष कटेका दीर्घरोगीहरूमा जोखिम उच्च हुन्छ,” मिर्गौला, मधुमेह र क्यान्सर लगायतका बिरामीहरू सतर्क रहनुपर्ने डा गौतमले बताए।

उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका सङ्क्रमितहरूको सङ्ख्या ६० प्रतिशतभन्दा बढी रहेको र यसले सङ्क्रमितहरू मध्येको ठूलो सङ्ख्या सक्रिय र कामकाजी उमेर समूहको रहेको देखाएको ओलीले सम्बोधनका क्रममा बताएका थिए।

सरकारले देशभर पीसीआर परीक्षण कुल जनसङ्ख्याको दुई प्रतिशत पुर्‍याउने लक्ष राखेको र त्यसमध्ये हालसम्म २ लाख २५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ।

“त्यो भनेको लक्षको करिब करिब आधा हो,” गौतमले भने। तर विज्ञहरू भने उक्त सरकारी भनाइ प्रति सहमत देखिँदैनन्।

जनस्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दिक्षितका अनुसार कोरोनाभाइरस सङ्क्रमणका लागि पीसीआर परीक्षण दुई प्रतिशतसम्म पुर्‍याएर मात्रै हुँदैन।

“आज परीक्षण गरिएका भोलि सङ्क्रमित नहोला भन्न सकिँदैन। परीक्षण त निरन्तर गरिरहनु पर्छ,” उनले भने।

विश्वसनीयतामा प्रश्न

काठमाण्डूको विभिन्न स्थानबाट सङ्कलन गरिएको नमुना परीक्षणको नतिजा हेर्दा हालसम्म आत्तिइहाल्नुपर्ने अवस्था नरहेको अधिकारीहरू बताउँछन्।

पछिल्लो समय तीनकुने र नख्खु जस्ता स्थानबाट सङ्कलन गरिएका दुई सय भन्दा बढी नमुना परीक्षणको नतिजा नेगेटिभ आएको सरकारी दाबी छ।

तर दीक्षित भने सरकारले सार्वजनिक गर्ने तथ्याङ्ककै विश्वसनियता बारे प्रश्न उठाइनुपर्ने अवस्था आएको बताउँछन्।

काठमाण्डू

“केही समय अघि शिक्षण अस्पताल सहित अन्य केही स्थानमा गरिएका परीक्षणमा शतप्रतिशत सङ्क्रमित भेटिएका थिए। त्यसपछि सरकारले परीक्षणको सङ्ख्या लुकाउन सुरु गरेको छ” उनले भने। तर सरकारी अधिकारी तथ्याङ्क लुकाएको अस्वीकार गर्छन्।

“सरकारले नै नमुना सङ्कलन गर्ने, परीक्षण गर्ने र उसैले निगरानी गर्ने र तथ्याङ्क सार्वजनिक गर्ने अवस्थामा विश्वस्त हुने ठाउँ नरहेको उनी बताउँछन्।”

उनका अनुसार काठमाण्डूमा दिनको २० हजार मात्रै परीक्षण गर्न सकिए पनि सङ्क्रमणको केही हदसम्म अवस्था बारे प्रस्ट हुने सक्ने अवस्था रहन्छ।

तर हाल सरकारले गर्ने भनिरहेको परीक्षणको सङ्ख्या त्यो भन्दा निकै कम छ।

परीक्षण बाहेक कनट्याक्ट ट्रेसिङ अर्थात् उनीहरूले भेटेकाहरूको पहिचान गर्न नसक्नुका कारण पनि समस्या बढेको उनी बताउँछन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्