कोरोनाबारे तपाइँले थाहा पाउनै पर्ने सम्पूर्ण कुरा ५ सय शब्दमा – Janadesh Daily | ePaper

कोरोनाबारे तपाइँले थाहा पाउनै पर्ने सम्पूर्ण कुरा ५ सय शब्दमा


जनादेश जानकारी ।

कोरोना भाइरस विश्वव्यापी महामारी बनेको ६ महिनाभन्दा बढी भैसकेको छ ।  यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाख २८ हजार भन्दा बढी पुगेको छ । जसमध्ये ७२ लाख १९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको स‌‌‌ंख्या ९ लाख २४ हजार नाघेको छ ।

 

के हो कोरोना भाइरस ?

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए। भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो।

कहाँबाट आयो ?

कोरोना भाइरसको महामारी सुरुवात डिसेम्बर महिनाको अन्त्यमा चीनमा भएको हो तर यसको श्रोतबारे अझै यकिन भैसकेको छैन । कतिपयले वुहानको सी फुड मार्केटमा उत्पत्ति भएको ठानेका छन् । चिनियाँ अनुसन्धानकर्ताहरुले यो जीवाणू जनावरबाट मानिसमा सरेको अनुमान गरेका छन् । यसको श्रोत चमेरो वा सर्प हुन सक्ने बैज्ञानिकहरुको अनुमान छ ।

सङ्क्रमण कसरी हुन्छ?

कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ। सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ। सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ। भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

 

 

लक्षण के हुन् ?

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछिका मुख्य लक्षण हुन्। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ। तर नेपाल र विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित लक्षणविहीन छन् । लक्षणसहितका कोरोना संक्रमितको अनुपात एकदमै कम छ ।

 

लक्षण देखिए के गर्ने?

यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ। झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ। तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छ र तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ।

 

मृत्यु नै हुन्छ त ?

कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना निक्कै कम  छ । ‘द लान्सिट इन्फेक्शस डिजीजेज’ नामको एक जर्नलमा प्रकाशित अध्ययनले सङ्क्रमण भएका व्यक्तिमध्ये झन्डै शून्य दशमलव छ प्रतिशतकोमात्र मृत्यु हुने अनुमान गरेको छ। यो मृत्युदर मौसमी रुखाखोकीबाट हुने मृत्युदरभन्दा पनि धेरै हो।

 

उपचार के ?

अहिलेसम्म कोरोनाभाइरस संक्रमणको उपचार गर्न वा उक्त भाइरस हुन नदिने कुनै औषधि वा खोप बनेको छैन। संसारभर विभिन्न प्रकारका औषधिको प्रयोग गरिएको छ । नेपालमा आयुर्वेदिक घरेलु औषधी प्रचलनमा छन् ।

 

कसरी जोगिने ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट जोगिन सबैभन्दा महत्त्वपूर्ण र आधारभूत उपाय भनेको सरसफाइ नै हो। नियमित रूपमा साबुनपानीले हात धुनुहोस् वा गुणस्तरीय स्यानिटाईजर दल्नुहोस्। यसो गर्दा हातमा भएका भाइरसहरू मर्छन्। नाक, मुख र आँखा नछुनुहोस्। किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ। खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिस्शूले नाक र मुख छोप्नुहोस्। दूषित रुमाल र टिशू सुरक्षित रूपमा तुरुन्त फाल्नुहोस्। त्यसो गर्दा भाइरसयुक्त छिटाबाट अरू मानिसलाई जोखिम हुँदैन। भिडभाडमा नजानुहोस्। सकेसम्म घरमै बस्नुहोस्। त्यसो गर्दा भाइरस फैलिने सम्भावना कम हुन्छ।

यो पनि पढ्नुस् – भारतमा भयावहः हरेक दिन ९० हजार प्लसलाई संक्रमण, १ हजार प्लसको मृत्यु 

आजको अपडेटः २ करोड ८९ लाख संक्रमित, ९ लाख २४ हजारको मृत्यु 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्