जनादेश, काठमाडौं ।
सरकारले असोज ५ बाट आन्तरिक उडान र लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात ५ असोजबाट गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ५ असोजदेखि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको जानकारी दिए । यातायात संचालनका लागि स्थानीय र प्रदेशसँग समन्वय गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
विमान चड्ने नियम
आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने र ज्वरो आएको देखिएमा विमानस्थलबाट फर्काउने गरी अनुमति दिन निर्णय भएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गराएर यात्रा गर्न दिने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।
त्यस्तै, विदेशमा समस्या परेका नेपाली फर्काउनका लागि उडान थप्ने निर्णय पनि सरकारले गरेको छ । उडान थपेर असोज महिनाभरमा विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरी तयारी थाल्ने निर्णय बैठकले गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।