समाचार शीर्षकका सामाजिक मनोविज्ञान – Janadesh Daily | ePaper

समाचार शीर्षकका सामाजिक मनोविज्ञान


डीबी.नेपाली
नेपाली समाज सामाजिक–साँस्कृतिक तथा अर्थ–राजनीतिक प्रणालीले निर्माण गरेको रुढीवादी परम्पराबाट निर्देशित पुरातनवादी समाज हो । विशेषगरी आमसञ्चारका विभिन्न समाचार शीर्षकलाई मसिनो गरी नियाल्ने हो भने सकारात्मक भन्दा नकारात्मक शीर्षक बढी आउने गरेको देखिन्छ । यसमा पनि सबैभन्दा बढी लैंगिक र जातीय विभेदका समाचार बढी आएको पाइन्छ । जबसम्म पुरातनवादी सोचको सामाजिक संरचना, आदिम कबिला प्रकारका मूल्यमान्यताहरु सचेत ढंगले भत्काइँदैन । आधुनिक विज्ञानले विकास गरेको ज्ञान–विज्ञान,सीप–प्रविधि र विज्ञानमा आधारित समाज र सामाजिक प्रणाली बन्दैन ।
तबसम्म देश र जनता समृद्ध बन्न सक्दैनन् । आर्थिक विकास हुनसाथ नाटकीय रुपमा समृद्धि आइहाल्छ भन्ने किसिमको प्रचारबाजी भैरहेको छ । यो सोच बिलकुलै गलत छ । आदिमकालीन कुरीति,कुसँस्कार,रुढिवादी परम्परा,अन्धविश्वास,प्रथा–परम्परा जस्ता सामाजिक विकृतिलाई नतोडेसम्म माला जपेर समृद्धि कसरी आउँछ ? नेपाली आमसञ्चार माध्यममा प्रकाशित विभिन्न समाचार शीर्षकलाई हेर्दा अहिले पनि हाम्रो समाज आदिम दासयुगिन अवस्थामै रहेको झल्को मिल्छ । केही समाचार शीर्षकलाई यहाँ उल्लेख र चर्चा गरौं ।
“बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट” २३ मंसिर २०७६, तुल्सीपुर अनलाइन डटकममा यो समाचार प्रकाशित भएको थियो । घट्ना चितवन जिल्ला इच्छाकामना गाँउपालिका–२,का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि बोक्साको आरोपमा दुव्र्यवहार भएको हो । पीडकको नेतृत्व उत्तर कुमार गुरुङ सहितको टोलीले गरेको थियो । वडाको सामुदायिक भवन सार्ने विषयमा उनीहरु बीचमा विवाद भएको थियो । पीडित काँग्रेस कार्यकर्ता र पीडक नेकपाका कार्यकर्ता हुन् ।
रोचक कुरा के छ भने दुबै पक्ष आफूलाई हिन्दूधर्म भन्दा बाहिरका हौ भन्ने समुदायका हुन् । आजको २१औं शताब्दीको विज्ञान प्रविधिको युगमा एउटा जनप्रतिनिधि माथि जघन्य अपराध र हिंसा हुनु अक्षम्य अपराध हो । नेपाली राजनीतिक दलका वैचारिक कारखानामा कुन हदसम्मका चेतना भएका कार्यकर्ता उत्पादन हुँदा रहेछन् ? भन्ने कुरा यो दृष्टान्तले छर्लङ्ग पारेको छ । यसले हाम्रो सामाजिक–राजनीतिक अर्थप्रणाली र शैक्षिक गुणस्तरलाई समेत नराम्ररी गिज्याइरहेको छ । यो अपराध कुनै ग्रामीण दूरदराजमा नभएर देशको केन्दीय राजधानी सँगै जोडिएको जिल्लामै भएको थियो । यहाँ केवल राजनीतिका लागि राजनीति भैरहेको आभाष भएको छ । राजनीतिक नेतृत्वले समाज परिवर्तनमा खासै चासो नदेखाएको कारण अन्धविश्वास र कुरीति झनै मौलाइरहेको छ । बोक्सी सम्बन्धी नै १५ मंसिर २०७६, अन्नपूर्णपोष्टमा समाचार प्रकाशित भएको थियो । यो समाचार वैतडीबाट “बोक्सीको आरोपमा महिलामाथि कुटपिट” शीर्षकमा भगीरथ अवस्थीले लेखेका थिए ।
समाचार अनुसार वैतडी पुर्चैडी नगरपालिका–९, तल्लादेहीकी एकल महिला उत्तरा ढुङ्गाल माथि उनकै देवर नाता पर्ने डम्बर ढुङ्गाल र देउरानी पवित्रा ढुङ्गालले “तिमीलाई देखेपछि मेरो छोरा बिरामी हुन्छ” भन्दै कुटपिट गरेका थिए । वास्तवमा बोक्सा–बोक्सी बारे कुनै वैज्ञानिक तथ्यप्रमाण अहिले सम्म पाइएको छैन । धार्मिक रुढीवादले आमाको गर्भदेखि नै छोरालाई वंश धान्ने,बलियो,योग्य ठानिन्छ । तर, छोरीलाई अर्काको घर जाने,अबला,कमजोर र शक्तिहीनको रुपमा बुझिन्छ । अनि जन्म पछि पनि छोरा र छोरीलाई यहि अभ्यास,शारीरिक र मानसिक रुपमा विकसित गर्दै लगिन्छ । अझ गर्भमा भ्रुण पहिचान गरी छोरी भए यो संसारमा पर्दापन हुनै नपाइ पेटमै हत्या गरिन्छ ।

बोक्सा–बोक्सी उत्पादन गर्ने मनोविज्ञानको विकास र जरो यहिँनेर छ । जो कमजोर, दुर्बल,गरीब,विपन्न र असहाय छ । उसैलाई समाजले बोक्सा–बोक्सी देख्ने सामाजिक मनोविज्ञान विकसित हुँदै आएको छ । यसको अन्त्यको लागि सकारात्मक समाचार प्रभाव,जागरण र बृहत सामाजिक मनोपरामर्शको खाँचो देखिन्छ । साथै, थप हिंसा र पीडकलाई मनोबल बढाउने समाचार शीर्षकको विकल्पमा पीडितलाई आत्माबल बढ्ने र पीडकलाई निरुत्साहित गराउँदै लगिनु जरुरी छ ।
अब अर्को साँस्कृतिक समाचार शीर्षकका बारेमा चर्चा गरौ । नेपालको परम्परागत समाजशास्त्रीय–मानवशास्त्रीय तथा सत्ता–अर्थराजनीति र वर्गिय पक्षधरताको दृष्टिकोणबाट तल उल्लेखित तीन समाचार शीर्षकबाटै छर्लङ्गै हुन्छ । पहिलो, “नौमतीबाजा संरक्षणमा झापाका युवा सक्रिय” २९ माघ २०७५, झापाबाट लक्ष्मी काफ्लेले यो समाचार नयाँ पत्रिकामा लेखेका थिए । समाचार अनुसार युवाहरुले व्यवसायिक रुपमा ‘एक्टिभ नाइन’नामक संस्थाद्धारा नौमतीबाजा संरक्षण अभियान थालेका हुन् भन्ने उल्लेख छ । उनीहरुले स्थानीय नरेन्द्र दर्नालसँग प्रशिक्षण लिएर सिकेका थिए ।
दोस्रो,“संकटमा नौमतीबाजा” १९ पौष २०७५, गुल्मीबाट टोपलाल अर्यालले यो समाचार नयाँ पत्रिकामा लेखेका थिए । समाचार अनुसार पहिलेको तुलनामा बाजा बजाउने कम हुँदै गएका, श्रमको मूल्य नपाएको, उचित संरक्षण र सम्मान नहुँदा युवाहरुमा आकर्षण घट्दै गएको जस्ता विषय उल्लेख गरिएको छ ।
तेस्रो, “लोप हुँदै गएको नौमतीबाजा संरक्षण गर्दै ब्राम्हण–क्षेत्री” ११ मंसिर २०७६, बाँकेबाट विश्वराज पछडङ्ग्याले यो समाचार नयाँ पत्रिकामा लेखेका थिए । समाचार अनुसार दमाई जातिले बाजा बजाउन छाड्दै गएकोले दुई वर्षदेखि संरक्षणमा जुटेको समाचारमा उल्लेख छ । समूहका अध्यक्ष भीमबहादुर खत्रीका अनुसार कतिपय ठाँउमा दमाई भनेर हेपेको, तिमी भनेर संवोधान गरेको उल्लेख गरिएको छ ।
यी तिनवटै पञ्चैबाजा–नौमतीबाजाको बारेमा समाचार शीर्षकलाई हेर्दा पुरातन शासकीय मनोवैज्ञानिक भाव झल्किएको पाइन्छ । किनकी, श्रम,सीप–कला र पसिनामा बाँच्ने र साँस्कृतिक सम्पदाका मूल दमाई जातिलाई उपेक्षा र अपमान गर्ने निकृष्ट सोचका कारण अपहेलित र तिरष्कृत भएका हुन् । पञ्चैबाजा–नौमतीबाजा बजाएकै कारण होइन । ज्ञान–विज्ञान, सीप–कलालाई घृणा र अपमान गर्ने शासकीय निम्न घटिया चिन्तन विचार हो । यसबारेमा समाचार खोजमुलक,यसका कारण, परिणाम र समाधान सहित आउनु पर्ने हो । तर, जातीय सत्ता–राजनीति र वर्गिय पक्षधरताकै पक्षमा समाचार शीर्षक चयन भएको हुनुपर्छ ।
विडम्ना नै भन्नुपर्छ, दमाई जातिले बजाएको रिर्पोटिङ्ग गर्दा “संकटमा नौमतीबाजा” शीर्षक चयन गरिन्छ भने अन्य समुदायले बजाउँदा “लोप हुँदै गएको नौमतीबाजा संरक्षण गर्दै ब्राम्हण–क्षेत्री” भन्ने शीर्षक चयन हुन्छ । हो,यहिँनेर छ, समाचार शीर्षक चयनमा विरोधाभाष र जातीय पक्षधरता !? हजारौं वर्षदेखि यो बाजाको आविष्कार,विकास र संरक्षण गर्दै आउने दमाई जाति नै हो । तर, शासकहरुले कुन हदसम्मको अपमान,तिरष्कार,हेलाँहोचो र विभेद गरे ? बाजा बजाएकै कारण भन्ने विषयमा समाचार दातालाई जानकारी हुनुपर्ने हो ?
राजामहाराजाहरुले नगरा,पञ्चैबाजा र सँस्कृति संरक्षणको लागि राखिदिएको हजारौ रोपनी गुठी जमिन बेचेर खाइदिइ पछि यो बाजा कसरी बाँचोस !? अनि हिजो बाजा देख्दै तर्सने र छोइ हालेमा चोखिने समुदाय कसरी आज संरक्षक बन्न सक्छ ? ज्।ब् म्बखष्क ले–“नेपालको ऐतिहासिक अध्ययनमा पनि सेडुलकास्ट(शिल्पी÷दलित)नैतिक र श्रमले भरिपूर्ण छन् । तर, राज्य सत्ताको कुनै चासो नहनु नै दशा हो” भनि उल्लेख गरेका छन् । अतः उहाँको सारांशले के दर्शाउँछ भने आत्मवृतान्त नै उत्पति र संस्कारको ढकन हो । त्यसैले यो त केवल आवरणमा संरक्षक, व्यवहारमा भने हस्तछेप र अर्थोपार्जन नै हो ।

दमाईले बजाउँदा सँधै संकटमा,लोपोन्मुख मात्रै भनिदिइरहने । तर, अरुले बजायो भने चाँहि संरक्षण हुने कुराले गम्भीर साँस्कृतिक अतिक्रमण र हिंसा नै हो । होइन भने सतही रिर्पोटिङ्गले झनै पुराना बाजाबादक दमाई जाति झनै किनाराकृत र विस्थापित हुने निश्चित छ । हेक्का रहोस, अरुले बजाउनु हुँदैन भन्ने मनसाय कदापि होइन । तर, सामाजिक विभेदको खाडल सिर्जना गर्नेहरुको नालीबेली र सामाजिक–साँस्कृतिक असरलाई पनि सँगसँगै चित्रण गर्नु जरुरी छ । सामाजिक परिवेश र सम्बन्धित समुदायको धरातलीय यर्थाथलाई ध्यानमा राखी सन्तुलित समाचार शीर्षक चयन बिना थप साँस्कृतिक हिंसा, हस्तछेप र अतिक्रमणलाई नै बल पुग्ने छ । यस तर्फ समाचारदाता र आमसञ्चारको ध्यान अझै सम्म पुग्न सकेको छैन ।
यस्तै अर्को समाचार दाइजो सम्बन्धी रहेको छ । “दाइजोमा फ्रिज नदिएको भन्दै १९ वर्षीय श्रीमतिको हत्या” २६ मंसिर २०७६, जनकपुरबाट यो समाचार नेपाल खबर डटकममा शैलेन्द्र महतोले लेखेका थिए । समाचार अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका नविन किशोर साहकी श्रीमति ज्योति नायक(साह)को हत्या भन्ने उल्लेख छ । ज्योतिका बाबु सुरेन्द्र नायकले भने–“१७ लाख बराबारको दाइजो दिएर एक वर्ष अघि विवाह गरेको थिएँ । केही महिना पछि ज्वाइँले फ्रिज लगायतको सामान माग्दै छोरीलाई शारीरिक तथा मानसिक यातना दिँदै अन्तमा छोरीको हत्या नै गरेछन् ।”
विवाह जस्तो नितान्त प्रकृतिको सृष्टिचक्रलाई निरन्तरता दिने विषयलाई धनदौलत र मालवस्तुमा साट्ने सँस्कार, आर्थिक व्यापारीकरण र नर–नारीप्रतिको मोजीकरण मानसिकता हो जस्तो लाग्छ । यो धर्मान्धता, कुरीति,कुसँस्कार र अन्धविश्वासको जगमा टिकेको गम्भीर मानसिक समस्या हो । जो छोरीलाई पढाउनु हुँदैन भन्ने मतसँग गाँसिएको छ । छोरीलाई पढाइ दिए पुग्छ भन्ने सँस्कार र मानसिकताको विकास नहुँदासम्म अपराध वृद्धि भैरहनेछ । दाइजो नपुगेको बाहनामा आफ्नै अर्धाङ्गीनीकै हत्या गर्न सक्ने कुन हदसम्मको अमानवीय मानसिकता हो ? मुख्य कुरा सामाजिक जागरण र वैज्ञानिक शैक्षिका ज्ञानले मात्रै यस्ता सँस्कारको अन्त्य गर्न सकिन्छ । पीडकको आत्माबल बढ्ने खालको शीर्षकको विकल्पमा पीडितलाई राहत हुने ज्ञान–विज्ञानमा आधारित शीर्षक र जागरण ल्याउनु जरुरी छ । अर्थात् दाइजो सम्बन्धी हिंसा, हत्यका कारण,परिणाम र असरका बारेमा गहन खोज गरी व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । यसो गर्न सकिएमा पीडकको मनोबल घट्दै जान्छ । र, दाइजो सम्बन्धी यस्ता जघन्य सामाजिक अपराधमा समेत कमी आउन सक्छ ।
त्यसैगरी, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा कुरुप सामाजिक प्रथाको रुपमा ‘छाउपडी’ रहको छ । अर्थात् महिनावरी बार्ने चलन । “छाउपडी प्रथाः विद्यालय जान घरबाटै रोक” शीर्षकमा ३० मंसिर २०७६, ई कान्तिपुर डटकममा सुदूरपश्चिमबाट मोहन शाहीले समाचार लेखेका थिए । समाचार अनुसार के आईसिंह गाँउपालिका–५, स्थित भुवनेश्वरी माविमा कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्रा छन् । ती मध्ये २७ छात्रा महिनाको ३ दिन विद्यालय जाँदैनन् । “विद्यालय परिसर भित्रै विभिन्न देविदेवताको मन्दिर भएकोले अनिष्ट हुन्छ भन्दै घरबाट विद्यालय जान रोकेको समाचारमा उल्लेख छ ।” सबै समाचारक,शोधकर्ता, अध्येता प्रति लुकेका, अन्तरकुन्तरका विषय वस्तुलाई बाहिर ल्याउनु राम्रो हो । तर, रोचक कुरा यसलाई कार्यान्वयन गर्ने निकायले के गर्यो भन्ने सवाल मुख्य हो ।
वास्तवमा यो परम्पराको नाममा रहेको एक कुप्रथा हो । ‘छाउपडी’ बार्नैपर्ने यसमा कुनै वैज्ञानिकता र सत्यता छैन । यसको अन्त्यको लागि विभिन्न प्रयास र अभियानहरु चलाइएका पनि हुन् । तर, अवस्थामा अझै सुधार आउन सकेको छैन । लामो समय देखि सामाजिक मनोविज्ञानमा गढेर बसेको रुढिवाद कायमै रहेको छ । महिलाहरुमा महिनावरी हुनु सामान्य प्राकृतिक नियम हो । जो बिना मानव सृष्टि चक्र नै रोकिन्छ । जसरी शरीरबाट विकारको रुपमा दिसा–पिसाब, खकार,सिंगान र पसिना स्वभाविक प्रक्रियाबाट बाहिर आउँछ । त्यसैगरी महिनावरीमा पनि अनावश्यक पदार्थ बाहिर आएको हो । तर, यति सरल कुरालाई अशुद्ध,अपवित्र, देउता रिसाउने, अनिष्ट हुने जस्ता अनेक मिथक र कथा बुनेर महिलामाथि हिंसा भैरहेको छ ।
यो कुप्रथाको समूल अन्त्यको लागि प्रभावकारी वैज्ञानिक शिक्षा र जागरण अभियानले मात्रै संभव छ । निरन्तर ज्ञान–विज्ञान र मनोवैज्ञानिक परामर्श दिने खालका विषयहरु आमसञ्चारका माध्यमहरुमा प्रचार–प्रसार गरिनुपर्दछ । अध्ययन र एकिकृत समाचारलाई मुल ध्यये मानी आधार लिँदा यसो गर्दा कसो होला ? समाजको ऐना र नारी परिवर्तनकी सम्बाहक, आमा,दिदी र बहिनी÷परिवारको एकताको प्रतिक दुई रथमा एक पांग्रा बुबा,भाइ छोराको समिश्रणबाट समाजको,घरको र परिवारको सोच,विवेक र वुद्धिमा परिवर्तन गर्न सक्दछन् । र, सामाजिक मनोविज्ञानमा परिवर्तन ल्याउन सकिन्छ ।
यसको अन्त्यको लागि निरन्तर मनोपरामर्श र प्रशिक्षण आवश्यक छ । यो कुसँस्कारको मूलश्रोत के हो ? यसको शुरुवात् कसरी भयो ? वैज्ञानिक तथ्य आधार के छ ? घर–परिवार, राजनीतिक दलका नेतृत्व, बुद्धिजीवि, धामीझाँग्री र आमसञ्चार माध्यमले कसरी सहयोग गर्न सक्छन् ? आदि विषयमा निरन्तर अभियान जारी राख्न सकियो भने छाउपडी समाप्ती त्यति गाह््रो चाँहि छैन । मुख्य कुरा सकारात्माक समाचार प्रभाव र महिलाको मनोबल उकास्नु नै मूलविषय हो ।
जताबाट, जसरी पनि महिलाहरुको आत्माबललाई बलियो बनाउनु पर्दछ । विभिन्न अदृष्य शक्तिको डर देखाएर छाउपडी लाद्नु महिला माथिको शोषण र सामाजिक अपराध हो । विशेष डरको मनोवैज्ञानिक जालो भित्र कैद गरेर यो अन्धविश्वास र रुढीवाद टिकाइ राखिएको छ । नेपाली समाजको सामाजिक मनोविज्ञान पर–पीडक छ । जो–जसले जसरी सक्छ । एक–अर्कालाई किचिरहने,थिचिरहने, मिचिरहने खालको छ । नम्र ,विनयशील,प्रेमभाव भन्दा पनि जर्बरजस्ती शोषण र दमनकारी छ । प्रभावकारी वैज्ञानिक शिक्षा प्रणाली लागू र कडा कानुन बनाइ कार्यन्वयनका साथै मानसिकता फेरबदल समाज परिवर्तनको मूल विषय हो ।

Note:
https://nayapatrikadaily.com/news-details/36124/2020-02-12?fbclid=IwAR22zoZS8QjcOcg85_QEfbPWQdhvR3XWH_R3do8u1oyfS250msDMmRXpSew
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्