एजेन्सी ।
कप्तान पिएरे इमरिक औवामियाङले इंग्लिस क्लब आर्सनलसँग सम्झौता नविकरण गरेका छन् । पुरानो सम्झौता १० महिना मात्रै रहँदा गावोनका फरवार्ड औवामियाङले लन्डन क्लब आर्सनलसँग थप तीन वर्षको सम्झौता नविकरण गरेका हुन् ।
नयाँ सम्झौतासँगै ३१ वर्षीय फरवार्ड २०२३ सम्म क्लबमा रहने छन् । उनले आकर्षक पारिश्रमिकमा क्लबसँग नयाँ सम्झौता गरिएको बुझिएको छ । उनले सातामा ३ लाख पाउन्ड पाउन सक्नेछन् । पछिल्लो समय औवामियाङले क्लब छाड्ने मनासय बनाएपनि डिसेम्वरमा आर्सनलको प्रशिक्षक बनेका मिकेल अर्टेटाले उनलाई क्लबमै राख्न सफल भए । यससँगै औवामियाङको आर्सनल छाड्ने शंकाको अन्त्य भएको छ ।
क्लबसँग नयाँ सम्झौता गरेसँगै औवामियाङले आफु अब क्लबको लेजेन्ड बन्न चाहेको बताएका छन् । ‘यो लेजेन्ड बन्नको लागि धेरै काम गर्ने समय हो । निश्चित रुपमा म मेरो सर्वश्रेष्ठ दिनेछु । यो मेरो घर हो । म यहाँ रहँदा साँच्चिकै खुसी छु । यो विशेष क्लबको लागि सम्झौता गर्न कहिल्यै शंका थिएन,’ सम्झौतापछि औवामियाङले भनेका छ ।
२०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट आर्सनल आएयता औवामियाङले १११ खेलमा ७२ गोल गर्नुका साथै १५ असिस्ट दिएका छन् । प्रशिक्षक अर्टेटाले औवामियाङ टोलीका महत्त्वपुर्ण खेलाडी तथा कप्तान रहेको बताएका छन् । ‘हामीले टिम निर्माण गरिरहेका छौं भन्ने औवामियाङलाई क्लबमै राख्न सक्नु ठुलो अंश हो । उ यहाँको सर्वश्रेष्ठ खेलाडीहरुसँग हुन चाहन्छ । क्लबमा आफ्नो छाप छोड्न चाहन्छ । यहाँ उनले त्यो उपलब्धि हासिल गर्न सक्नेछ ।’ अर्टेटाले भने ।
प्रिमियर लिगको पहिलो खेलमा फुलहमलाई ३–० ले पराजित गर्दा औवामियाङले एक गोल गरेका थिए । यस्तै गत सिजन आर्सनललाई एफए कप जिताउदा उनले दुई गोल गरेका थिए । कम्युनिटी सिल्डमा पनि लिभरपुलविरुद्ध खेलमा उनले गोल गरेका थिए ।