अन्तिम समयमा आएर पछि सर्‍यो पेरिस डाँडा बैठक, स्थगनको खास कारण यस्तो – Janadesh Daily | ePaper

अन्तिम समयमा आएर पछि सर्‍यो पेरिस डाँडा बैठक, स्थगनको खास कारण यस्तो


जनादेश, काठमाडौं ।
आज (शुक्रबार) पूर्व माओवादीको हेडक्वार्टर पेरिसडाँडामा बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक आइतबार हुने भएको छ ।

गृहकार्य नपुगेका कारण बैठक आइतबार बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जनादेशलाई जानकारी दिए । ।

नेकपाको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडा बैठक बोलाइएपछि पूर्वमाओवादीहरुमा उत्साह देखिएको छ । पेरिसडाँडामा बोलाइएको सचिवालय बैठक २६ भदौको स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यन्वयनमा लैजान आवश्यक छलफलमा केन्द्रित रहने छ तर त्यो भन्दा बढी यसको उद्देश्य पार्टीभित्र एकता मजवुद भएको सन्देश दिनु रहेको बताइएको छ ।

पछिल्लो स्थायी समितिपछि पार्टी एकतासहित सामूहिक निर्णयमा अघि बढेको सन्देश दिन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडामा बैठक बोलाउने सहमतिमा पुगेका थिए ।

बैठक स्थगनको खास कारण

भर्खरै मात्र पार्टीको आन्तरिक किचलोलाई मैझारो गरेको भन्ने ठानिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा नयाँ चरणको बहस सुरु भएको छ । यही कारण बैठक स्थगित भएको अनुमान गरिएको छ ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गरिएपछि नेकपामा प्रतिनिधिसभा चुनाव हारेकाहरु मन्त्री बन्न पाउने कि नपाउने भन्ने बहस चर्किएको हो ।

पार्टीमा दुई सचिवालयस्तरकै नेता प्रतिनिधिसभा चुनावमा पराजित भएपनि राष्ट्रियसभा सदस्य बनेका छन् । सचिवालय सदस्यहरु उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा चुनावमा पराजित हुन पुगेका थिए ।

पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष दुवै नेतालाई महत्वपूर्ण जिम्मेवारीसहित सरकारमा पठाउनुपर्ने पक्षमा छन् । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बामदेव र नारायणकाजीलाई सरकारमा लैजान अनिच्छुक देखिएका छन् । र यो अनिच्छालाई उनले कानूनी अड्चनको माध्यमबाट व्यक्त गरिरहेका छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारीबाहेक अन्य मन्त्रालयको जिम्मेवारीमा सरकारमा नजाने अडानमा रहेका बामदेव पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीले मन्त्रीसरहको सुविधासहित मुख्य आर्थिक सल्लाहकार नियुक्त गरेपछि तनावमा छन् ।

गौतम र श्रेष्ठ दुवै वा एक नेतालाई सरकारमा लैजाँदा प्रचण्ड, नेपाल र खनालले प्रधानमन्त्रीय पद्धतिविपरीत दैनिक कामकाजमै हस्तक्षेप गर्ने ओलीको चिन्ता छ ।

यो पनि हेर्नुस् – नेकपाको नयाँ बहसः बामदेव र नारायणकाजी मन्त्री बन्न पाउने कि नपाउने

भारतीय रक्षामन्त्री राजनाथ सिंहले झुट बोले- ग्लोबल टाइम्स 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्