एजेन्सी ।
बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले युवा मिडफिल्डर रिकी पुजलाई उनी आफ्नो योजनामा नरहेको भन्दै क्लब छाड्न सुझाव दिएका छन् ।
कोम्यानले पछिल्लो केहि सातायता प्रशिक्षण र मैत्रीपूर्ण खेलमा पुजको प्रदर्शनबाट प्रभावित हुन नसकेपछि उनलाई अन्यत्र भविष्य खोज्न भनेका हुन् । गत सिजन सिनियर टोलीमा डेब्यु गरेका पुजले किके सेटिनको प्रशिक्षणमा केहि राम्रो प्रदर्शन गरेका थिए । पुज यो सिजन औपचारिक रुपमा सिनियर टोलीमा बढुवा हुने अपेक्षा गरिएको थियो ।
कोम्यानले पुजलाई आफ्नो निर्णय प्रष्ट पारेको क्याटलान रेडियो आरएसी१ले जनाएको छ । शनिबार हुने जोआन गाम्पर ट्रफी अन्तर्गत एल्चेविरुद्ध खेलका लागि पनि पुज टोलीमा समेटिएका छैनन् । बार्सिलोनाले खेलेको पछिल्लो दुई मैत्रीपूर्ण खेलमा पुजको प्रदर्शन औसत रहेको थियो । तर कोम्यानले उनलाई आफ्नो योजनामा नराख्ने निर्णय लिएका हुन् ।
कोम्यानले पहिलो पटक मिरालेम प्यानिचलाई उतार्ने सम्भावना रहेको छ । उनी युभेन्ट्सबाट यसै सिजन क्लबमा अनुबन्ध भएका हुन् । कोरोना संक्रमणका कारण उनले प्रशिक्षणको सुरुवाती साता अनुपस्थित रहेका थिए । उनको आगमनले पनि पुजको आवश्यकता कम भएको हो ।
बार्सिलोनाले अब पुजलाई अन्यत्र क्लबमा स्थायी रुपमा पठाउने वा लोनमा पठाउने निर्णय गर्न बाँकी छ । ला मासियाका उत्पादन पुजलाई बार्सिलोनाको मिडफिल्डको भविष्यका रुपमा हेरिएको थियो ।