सडकमा गुड्न थाले सार्वजनिक यातायात – Janadesh Daily | ePaper

सडकमा गुड्न थाले सार्वजनिक यातायात


काठमाडौं । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् ।  राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।

सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् ।
सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ । अधिकांश बस खाली नै गुडिरहेको पाइएको थियो ।

कलंकीमा भेटिएका एक चालकले बस ग्यारेजबाट निकालेर गुडाउन थाले पनि यात्रु नै नभेटिएको गुनासो गरे ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि बिहीबार सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको थियो ।

सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राख्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्कपन्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने गरी सवारी साधन चलाउन अनुमति दिएको थियो ।

सरकारले छोटो दुरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि लामो दुरीको सवारी चलाउन भने अनुमति दिएको छैन । काठमाडौं उपत्यकामा सोमबार सञ्चालनमा रहेका बसका चालक र सहचालकले हातमा पन्जा र मास्क लगाएको पाइएको छ । बसमा एक लहर राखेर सामाजिक दुरी कायम गर्ने प्रयास गरिएको पाइएको छ ।

यता, केही समय अघिदेखि विद्युतीय बस चलाउँदै आएको सुन्दर यातायात प्रालिले आज (मंगलबार)बाट बस सेवा सुरु गर्ने जनाएको छ । कम्पनीले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ ।

सुन्दरका चारवटा बसले दुईवटा रुटमा सेवा दिने कम्पनीले जनाएको छ । सुन्दर प्रालिका अनुसार सूर्यविनायक–रत्नपार्क र चक्रपथमा सुन्दरका दुई–दुईवटा विद्युतीय बसले सेवा दिनेछन् ।

स्रोतः राजधानी दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्