कैद भुक्तान गर्न बाँकी प्रतिवादी पक्राउ    – Janadesh Daily | ePaper

कैद भुक्तान गर्न बाँकी प्रतिवादी पक्राउ   


दमौली ।

जिल्ला प्रहरी कार्यालय तनहुँले ६६ वर्ष भन्दा बढी कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान नै चलाएको प्रहरीले असारदेखि असोज पहिलो हप्तासम्म १ सय २८ फरार प्रतिवादी पक्राउ गरेको छ ।

पक्राउ परेका प्रतिवादीले अदालतबाट फैसला भए बमोजिम ६६ वर्ष २ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँका नयाँ प्रहरी प्रमुख आएसँगै प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान शुरु गरेको थियो ।

यस अवधिमा अदालतबाट फैसला भई फरार रहेका १ सय २८ र अनुसन्धानका लागि ७ जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरी नायब उपरिक्षक तिमिल्सिनाका अनुसार फैसला भई फरार रहेका प्रतिवादीमध्ये असारमा ६, साउनमा ४२, भदौमा ५२ र असोजमा २५ जना पक्राउ परेका छन् । त्यस्तै अनुसन्धानका लागि असारमा तीन, साउनमा तीन र भदौमा एक जना पक्राउ परेका छन् ।

पक्राउ परेका प्रतिवादीबाट रु २३ लाख ९५ हजार ८१ जरीवाना असुल भएको छ । “पक्राउ परेकामध्ये अधिकांश तोकिएको जरीवाना तिरेर छुटेका छन्, कैद सजाय भएका प्रतिवादीलाई भने कैद भुक्तानका लागि कारागार चलान गरिएको छ,” प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले भन्नुभयो, “कारागार चलान गरिएकाहरुबाट ६६ वर्ष २ महिना १३ दिन कैद भुक्तान हुन बाँकी छ ।”

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नका लागि विशेष टोली नै बनाएको छ । कोभिड–१९ का कारण भएको बन्दाबन्दीले धेरैजसो घरमै रहेकाले पनि फरार प्रतिवादी पक्राउ गर्न सहज भएको प्रहरीको भनाई छ । “गल्ती गरेपछि कारवाही भोग्नैपर्छ भन्ने सन्देश दिन प्रहरी सफल भएको छ”, तिमिल्सिनाले भन्नुभयो, “गल्ती गरेपछि कसैले उन्मुक्ति पाउँदैनन् ।” जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरिक्षक अरुण पौडेलले फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रहरीले असोज ४ गते एकैदिन २५ र भदौ २८ गते ३५ जना प्रतिवादी पक्राउ गरेको थियो । प्रहरीले नागरिकता किर्ते, बहुविवाह, लागुऔषध, घरेलु हिंसा, फौजदारी, कुटपिट, जालसाजी लगायतका मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्