‘एउटा बिटक्वाइन काण्ड’मा थुप्रै अर्बपति, नेता र कम्पनीका ट्विटर खाता ह्याक – Janadesh Daily | ePaper

‘एउटा बिटक्वाइन काण्ड’मा थुप्रै अर्बपति, नेता र कम्पनीका ट्विटर खाता ह्याक


बिबिसी

ट्विटर ह्याक

बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्।

हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत छन्।

उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन्।

हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन्।

ह्याकरले के गरे?

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

“मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ,” बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, “१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु।”

ट्विटर ह्याक

सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ।

टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।

“कोभिड-१९ का कारण म उदार भइरहेको छु,” बिटक्वाइनको ठेगाना राखिएको लिङ्कसहित उक्त ट्विटमा थप लेखिएको थियो।

पुरानै रोग तर ‘अनपेक्षित’

ती ट्विटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए।

निलो ‘टिकमार्क’ सहितका ती सबै प्रमाणित ट्विटर खाताहरूलाई अहिले थप ट्विट गर्नबाट रोकिएको छ।

Twitter पोस्ट समाप्त, 1

विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिराखेको छैन।

बीबीसीका साइबर सुरक्षा संवाददाता जोन टिडीका भनाइमा ‘बिटक्वाइन दोबर पार्ने’ काण्ड ट्विटरमा वर्षौँदेखिको रोग हो।

उनी भन्छन्- “तर ठूलो सङ्ख्यामा सार्वजनिक व्यक्तिका खाता ह्याक गरिएको यो घटना अनपेक्षित हो।”

यसले ट्विटरकै समस्या समेत देखाएको बताइएको छ।

ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई उक्त सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ।

स्रोतः बिबिसी नेपालीबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्