एजेन्सी ।
अंशु फातीको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा दोस्रो जित निकालेको छ ।
बिहीबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ३-० ले पराजित गरेको हो ।
१० खेलाडीमा सीमित भएको बार्सिलोनाका लागि आन्शु फाती र सर्गेइ रोबर्टोले गोल गरे । सेल्टा डी भिगोका लुकास ओलाजाले आत्मघाती गोल गरेका थिए ।
४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । त्यसअघि नै ११ औँ मिनेटमा फातीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । फिलिप कोन्टिन्होको पासमा फातीले गोल गरेका हुन् ।
५१ औँ मिनेटमा लियोनल मेस्सीको क्रस बललाई जोगाउने क्रममा सेल्टाका ओलाजाले आफ्नै पोस्टमा गोल गरे । रोबर्टोले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेपछि बार्सिलोना ३-० ले विजयी भयो ।
लिग अन्तर्गत बिहीबार राति नै भएका अरु खेलमा काडिजले एथ्लेटिको बिल्बाओ तथा सेभिल्लाले लेभान्टेलाई समान १-० ले पराजित गरेका छन् ।
बार्सिलोनाले लिगको सुरुवाती २ खेलबाट ६ अंक जोडेको छ । सेल्टा डी भिगोले ४ खेलबाट ५ अंक जोडेको छ ।
यो पनि हेर्नुस्-