एजेन्सी ।
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तानसमेत रहेका भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहलीले यो सिजनको पहिलो राम्रो खेल खेलेका छन् ।
कोहोली चम्किँदा बैंगलोरले प्रतियोगितामा शनिबार तेस्रो जीत हात पारेको छ । अबुधाबीमा भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।
बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको योगदान दिए । उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । कोहलीले यो खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रन समेत पुरा गरेका छन् ।
शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९.१ ओभरमा २ विकेटको नोक्सानीमा भेट्टायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले ७० रन बनाउँदासम्म चार विकेट गुमाएको थियो।
त्यसयता महिपाल लोमरोरले ३९ बलमा ४७ रन बनाए र राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
जितसँगै बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ भने राजस्थानले समान खेलबाट ४ अंक जोडेको छ ।