प्रिमियर लिग फुटबलः चेल्सीले निकाल्यो ४-० को जित, एभर्टनको अपराजित यात्रा कायमै – Janadesh Daily | ePaper

प्रिमियर लिग फुटबलः चेल्सीले निकाल्यो ४-० को जित, एभर्टनको अपराजित यात्रा कायमै


एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा चेल्सीले क्रिष्टल प्यालेसमाथि सहज जीत हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–० ले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउन जर्जिन्होले पेनाल्टीमार्फत २ गोल गरे भने बेल चिलवेल र कर्ट जौमाले एक एक गोल गरे ।

स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको हो ।

खेलको ५० औं मिनेटमा यसै सिजन चेल्सी आएका चिलवेलले गोल गर्दै अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा जौमाले चेल्सीको अग्रता दोब्बर पारे ।

चेलको ७८ औं र ८२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जर्जिन्होले चेल्सीलाई ४–० को जीत दिलाए । जितसँगै चेल्सी ४ खेलबाट ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

उता, लिग फुटबलमा एभर्टनले लगातार चौंथो जीत हात पारेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा एभर्टनले ब्राइटनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनलाई जीत दिलाउन गोडिसन पार्कमा जेम्स रोड्रिगेजले दुई गोल गरे भने डोमिनिक काल्भर्ट लेविन र यारी मिनाले एक एक गोल गरे ।

ब्राइटनका निल माउपे र युभेस बिसोउमाले एक एक गोल फर्काए । खेलको १६ औं मिनेटमा काल्भर्ट लेविनको गोलबाट एभर्टनले अग्रता लिएको थियो । खेलको ४१ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४५ औं मिनेटमा मिनाले गोल गरेपछि पहिलो हाफमा एभर्टनले २–१ को अग्रता बनायो । खेलको ५२ औं
र ७० औं मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनलाई ४–१ को अवस्थामा ल्याएका थिए ।

खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल फर्काएपछि खेल एभर्टनले ४–२ ले जित्यो । जितसँगै एभर्टन अंक तालिका शीर्ष स्थानमा उक्लिएको छ । एभर्टनले ४ खेलबाट १२ अंक जोडेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्