नेकपा अध्यक्षद्वय र वरिष्ठ नेताबीच छलफल – Janadesh Daily | ePaper

नेकपा अध्यक्षद्वय र वरिष्ठ नेताबीच छलफल


काठमाडौँ (रासस) ः

पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको उहाँहरुको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।प्रधानमन्त्री निवासमा त्रयनेताको छलफलअघि अध्यक्ष दाहाल र नेता नेपालसहितका नेताहरुको दाहाल निवास खुमलटारमा छलफल भएको थियो ।

शीर्ष नेताबीच पार्टी र सरकारको समन्वय, शक्ति बाँडफाँट, कोरोना रोकथाम, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) सम्झौता आदि विषयमा विवाद छ ।

पार्टी एकताका बाँकी कामको कार्यसूची पनि स्थायी कमिटीको बैठकमा तय गरिएको छ । पटकपटक स्थगन भई गत असार २६ गतेका लागि तोकिएकोे स्थायी कमिटीको बैठक सात दिनपछि साउन २ गते बस्नुअघि शीर्ष नेताबीच घनीभूत छलफल हुन थालेको हो ।

असार २६ गते देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको थियो । स्थायी कमिटीको बैठक असार १० गतेदेखि शुरु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्