एजेन्सी ।
साविक विजेता मुम्बई इण्डियन्स यूएईमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
सारजाहमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बाई शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईको यो तेस्रो जित हो ।
सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।
कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि हैदराबादलाई जित दिलाउन सकेनन् ।यस्तै मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए ।
मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २/२ विकेट लिए । कुर्नाल पाण्डयले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै इशान किसनले ३१ रन तथा सूर्यकुमार यादबले २७ रन बनाए । हार्दिक पाण्डयले २८ रन जोड्दा कप्तान रोहित शर्मा ६ रनमा आउट भए ।
केइरन पोलार्डले अविजित २५ र कुर्नाल पाण्डयले अविजित २० रन बनाए । हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २/२ विकेट लिए । राशिद खानले १ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको मुम्बईको ५ खेलमा ६ अंक भएको छ । ५ खेलमा ४ अंक जोडेको हैदराबाद छैठौँ स्थानमा छ ।